अनिल पराजुली
हेटौँडा, चैत ९ गते । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले मकवानपुरगढी वडा नं. ४ सामरीमा शुक्रबार सामरी समवेलको शुभारम्भ गरेको छ । हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले दैनिक ६० लाख लिटर पिउनेपानीको धारा खोलेर शुभारम्भ गर्नुभएको हो । हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, ४, ५ र १० का लागि खानेपानी पठाउन सामरी समवेलको शुभारम्भ गरिएको हो ।
खानेपानी योजनामार्फत लगभग १० हजार घरधुरी र ६० हजार जनसङ्ख्या लाभान्वित हुनेछन् । बोर्डले दुई साता लगाएर करिब २५ लाख लगानीमा खानेपानी योजना सम्पन्न गरेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले जानकारी दिनुभयो । बोर्डले दैनिक दुई करोड ६२ लाख लिटर खानेपानी उत्पादन गर्दै आएकोमा शुक्रबारदेखि दैनिक तीन करोड २२ लाख लिटर पानी उत्पादन गर्न थालेको बिष्टले बताउनुभयो । बोर्डअन्तर्गत हाल २६ हजार ८८९ वटा धारा छ ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिका अन्तर्गत वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० गरी ८ वटा वडाको सबै भूभाग र वडा नं. १, ३, १४, १५, १६, १७, १८ र १९ का केही भूभागमा बसोबास गर्ने करिब एक लाख ६० हजार नगरवासीलाई दैनिक ८ घण्टा खानेपानी वितरण गर्दै आएको छ । सामरी समवेलको शुभारम्भ भएसँगै दैनिक ६० हजार लिटर पानी थप भएको हो । हाल बोर्डमा १ वटा सतहगत मुहान, डिप बोरिङ् ३७ वटा, समवेल १३ वटा र पानी भण्डारण क्षमता ६ हजार ४४९ घनमिटर छ भने ४७० किलोमिटर पाइप लाइन नेटर्वक छ ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पानी महसुल बिलिङ आठ करोड ८३ लाख २९ हजारमध्ये आठ करोड ३६ लाख ७४ हजार अर्थात् ९४ दमशलव ७३ प्रतिशत उठाउन सफल भएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड हेटौँडाका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । बोर्डबाट ५३ लाख ७८ हजार पानी महसुल उठाउँन बाँकी रहेकोमा जोखिमयुक्त बक्यौता १५ लाख रुपियाँ रहेको सापकोटाले बताउनुभयो । चालु आवको फागुन मसान्तसम्म ५७ लाख ६ हजार ग्राहकबाट अग्रिम पानीको महसुल बापतको रकम प्राप्त भएको र पेस्की र बेरुजु शून्य रहेको उहाँले बताउनुभयो ।