काठमाडौं, चैत ६ गते । समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तहका क्षेत्रमा पनि पत्रकार महिलाको नेतृत्व हुनुपर्ने आवाज उठेको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले आयोजना गरेको समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रम सहभागीहरुले यस्तो आवाज उठाएका हुन् ।
सञ्चारिका समूहकी पूर्वअध्यक्ष समेत रहनुभएकी पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले रहेक ठाउँमा उप राख्ने चलनको अन्त्य गर्नुपर्ने भन्दै समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तह र सरोकारवाला निकायमा पनि महिलाले नेतृत्व गर्ने अवस्था सिर्जना गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ पुस्ताका महिलाहरुलाई आकर्षित गर्न नसक्ने हो भने आगामी दिनमा पत्रकार महिलाहरुको उपस्थिति झन कमजोर बन्ने सङ्केत गर्नुभयो । पछिल्लो समय सञ्चारगृहहरुबाट पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा समेत सेवाबाट निकालिएका खबरहरु प्राप्त भएको भन्दै त्यो गलत भएको उल्लेख गर्नुभयो ।
महासङ्घकी उपाध्यक्ष बाला अधिकारीले अहिले शुद्धीकरणमा महिला बढी परेको भन्ने गुनासो आएको भन्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अन्तिम नामावली प्राप्त भएपछि त्यसलाई गम्भीर रुपमा समीक्षा गरेर मात्रै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘हामी अधिकारका लागि लड्न तयार छौँ, हाम्रा अधिकार अझै पूरा भएका छैनन्,’ उहाँले भन्नुभयो, ‘कसरी पत्रकार महिलालाई नेतृत्वमा पुर्याउन सकिन्छ भनेर हामीले बहस गर्दै आएका छौँ । हामीले पत्रकारितामा पत्रकार महिलालाई टिकाउने र बिकाउने बनाउनु पनि चुनौती छ । त्योसँगै समाचार कक्षमा हुने हिंसा न्यूनीकरण त्यत्तिकै आवश्यक छ ।’ उहाँले महिलाले महिलाको नेतृत्व स्वीकार गर्न नसक्दा पनि समस्या भएको उल्लेख गर्नुभयो । ‘हामी जाति, वर्गभन्दा पार्टीभन्दा माथि उठ्नुपर्छ,’ उहाँले भन्नुभयो ।
प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले महासङ्घले सुत्केरी बिदामा बसेका महिलालाई निष्क्रिय भनेर शुद्धीकरणमा परेको विषय गम्भीर भएको उल्लेख गर्नुभयो । समाचार कक्षामा महिला नेतृत्व नहुँदा बाइलाइन पनि कम भएको भन्दै त्यसले नेतृत्व तहमा पुग्न पनि समस्या भएको उल्लेख गर्नुभयो । उहाँले त्यो पुरुषवादी चिन्तनले मात्रै नभएको पनि उल्लेख गर्नुभयो । महिला हुन भन्दा महिलावादी हुन मुस्किल छ । अझ महिलाका पक्षमा बोल्दा झन् मुस्किल छ,’ उहाँले भन्नुभयो, ‘महिलामैत्री पुरुषको पनि आवश्यक छ । कार्यकारी भूमिकामा महिला अहिलेको आवश्यकता हो ।’
सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले हाम्रो समाचार कक्ष कतिको समावेशी छ भन्दै त्यो महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । ‘हामीसँग नीति छ नीति कार्यान्वयनमा लागौं,’ उहाँले भन्नुभयो, ‘शुद्धीकरणको विषयमा कुरा उठाउनुपर्छ । दुईचार जना पत्रकारबाट हामी हजारौंमा छौं अब नेतृत्व तहमा पुग्नुपर्छ । प्राविधिक पक्षबाट पनि अपडेट गर्नुपर्ने छ । यो विषयमा पनि ख्याल गर्नुपर्छ । विश्व मानचित्रमा थोप्ला जत्रो नेपालमा साझा एजेन्डा बनाएर महिलालाई नेतृत्व दिने कुरामा ध्यान दिएर अघि बढौं ।’
सञ्चारकर्मी रुवि रौनियारले महिला विस्थापित हुने कुरा गलत भएको भन्दै ठूलो मिडियामा विकराल अवस्था रहेको पनि उल्लेख गर्नुभयो । ‘हाम्रा बाइलाइन पहिलो पृष्ठमा छापिन्छ तर मूल्याङ्कनमा हामीलाई पछि पारिन्छ ।’ उहाँले पहिला पत्रकार बचाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । सञ्चारकर्मी अम्बिका दाहालले जागिर गुमाएपछि पेशामा फर्किन समस्या हुने भनदै सुत्केरी भएपछि बिदा पाउनुपर्नेमा जोड दिनुभयो । शुद्धीकरण अभियानका नाममा अशुद्धीकरण भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
कार्यक्रम चौतारी उपाध्यक्ष देविका घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले महिला भएकै कारण सुत्केरी अवस्थामा पेशागत जिम्मेवारीबाट अलग हुनुपरेको पीडा व्यक्त गर्नुभयो । गर्भावस्था र सुत्केरी अवस्थालाई समाचार कक्षका पुरुषले बुझ्न नसक्नु दुर्भाग्य हो भन्दै उहाँले निराशा मात्रै बाँड्ने होइन आशा थपेर नयाँलाई आकर्षित गरौँ भन्दै श्रमजीवी महिलाको हितमा सबै लाग्न आग्रह गर्नुभयो ।