• ११ मंसिर २०८१, मङ्गलबार

हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने

blog

काठमाडौँ, चैत ६ गते । हाम्रो पात्रो मोबाइल एपबाट  स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्र्याक गर्न भेहिकल ट्रयाकिङ सफ्टवेयर थप गरी कम्पनीले यो सेवा उपलब्ध गराउन थालेको हो । 

केही दिन अघिदेखि यो सेवा सञ्चालनमा आइसकेको छ । यो सँगै यसमा जोडिएका विद्यालय तथा अभिभावकले बसको अवस्थाबारे जानकारी लिन सक्ने भएका हुन् । डियर वाक स्कुल तथा क्याम्पसबाट यसको सुरुवात भएको कम्पनीले जनाएको छ । ‘हामीले पहिलो चरणमा डियर वाक स्कुल तथा क्याम्पसका बसबाट यो सेवाको सुरुवात गरेका छौँ,’ हाम्रो पात्रो इंककी निर्देशक सुदिना गौतम भन्नुहुन्छ, ‘अबको केही दिनभित्रै थप १० स्कुल तथा कलेजलाई यो सिस्टममा जोडिने तयारी हुँदै छ ।’

यो सिस्टम मार्फत स्कुल कलेजका अभिभावकले बस कहाँ आइपुग्यो भन्ने कुरा हाम्रो पात्रोको एपमै हेर्न सक्नुहुनेछ । यसका लागि सुरुवातमा विद्यालय तथा कलेजहरू यो सिस्टममा जोडिनुपर्ने हुन्छ । त्यससँगै विद्यालयले अभिभावकलाई विद्यार्थी चढ्ने बस अनुसार बस ट्र्याक गर्न सकिने सुविधा उपलब्ध गराउँछ । यो सिस्टमको सहयोगमा विद्यालय तथा कलेजहरूले आफू मातहतका सम्पूर्ण बसहरू एकै पटक ट्र्याक गर्न सक्छन् ।

यसले अभिभावकलाई आफ्ना बालबालिका चढेको बस स्कुल पुग्यो कि पुगेन, कति बेला पुग्यो, घर फर्किने बेला बस कहाँ आइपुग्यो अथवा आफ्नो अफिसमै बसेर बालबालिका घर पुगे वा पुगेनन् भन्ने जानकारी लिने सुविधा दिन्छ । यसले विद्यालय तथा अभिभावक दुवै पक्षलाई सहजता प्रदान गर्ने विश्वास छ ।

कम्पनीका अनुसार हाम्रो पात्रो एपबाट नै प्रयोगकर्ताले जिपिएस ट्रयाकिङ सुविधा प्रयोग गर्न सक्छन् । कम्पनीले जिपिएस ट्रयाकिङ प्रणाली जडान गर्न लाग्ने शुल्कको विषयमा पनि कुनै जानकारी दिएको छैन । यद्यपि इच्छुक स्कुल तथा कलेज, सङ्घ संस्थाले यसका लागि हाम्रो पात्रोको कार्यालयमा सम्पर्क राख्न सक्ने गौतमको भनाई छ ।