बनेपा समाचारदाता
बनेपा, चैत ६ गते । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको नेपाली सेनाको कालीजङ्ग गणले जिल्लाभित्र रहेका नेपाली सेनाका भूतपूर्व सैनिकको सम्मेलनको आयोजना गरेको छ । कालीजङ्गका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले नेपाली सेनाबाट सेवा निवृत्त भएका सैनिकलाई एकै स्थानमा भेला गरी पुराना साथीबिच एकआपसमा भेटघाट गराउने उद्देश्यले भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।
सैनिक मुख्यालयका उपरथी विजय थापाले उद्घाटन गर्नुभएको सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माले फोनमार्फत सम्बोधन गर्दै सैनिक कल्याणकारी कोषबाट सेनाले बहालवाला र भूतपूर्व सैनिकका लागि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको बताउनुभएको थियो । प्रधान सेनापति थापाले सेनाले भूतपूर्व सैनिक परिवारका लागि उपलब्ध गराउँदै आएको सेवासुविधा बढाउने बताउनुभयो । सम्मेलनमा काभ्रेमा बसोबास गर्ने भूतपूर्व सैनिकका ४१८ एकल महिला र भूतपूर्व सैनिकसहित दुई हजार ५८६ जनाको उपस्थिति रहेको गणका गणपति सिंहले बताउनुभयो ।