साबिकका दहचौर, गुमी, घुमखहरे, मेहेलकुना, सहारे, मालारानी र धारापानी गाउँ विकास समितिको भूगोल समेटेर विसं २०७३ सालमा गुर्भाकोट नगरपालिका घोषणा गरिएको हो । गुर्भाकोटमा खेतीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइको पर्याप्त सुविधा छैन । गुर्भाकोट नजिकै भेरी नदी बगे पनि किसानले त्यसको लाभ लिन सकेको पाइन्न । आकाशे पानीको भरमा खेती गर्नुपर्ने यहाँका बासिन्दा जीविकोपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्याला मजदुरी र वैदेशिक रोजगारीमा गएको पाइन्छ । गुर्भाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट हस्त पुन हुनुहुन्छ । पालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित पुन अघिल्लो कार्यकालका विकास निर्माण र योजनाका कतिपय कार्यलाई जारी नै राखेको बताउनुहुन्छ । प्रस्तुत छ, प्रमुख पुनसँग गोरखापत्रका छिन्चु समाचारदाता नवीन सुवेदीले गर्नुभएको कुराकानी :
गुर्भाकोट नगरपालिकाको दोस्रो कार्यकालको प्रमुखका रूपमा कार्य गरेको पनि दुई वर्ष पुग्न लाग्यो । त्यस हिसाबले तपार्इंको कार्यकाल करिब सात वर्ष भयो । यस अवधिमा उल्लेखनीय खास काम के गर्नुभयो ?
गुर्भाकोट नगरपालिकामा पहिलो पाँचवर्षे कार्यकाल चलाइसकेको व्यक्ति हो । दोस्रो पटक पनि म निर्वाचित भएर आइसकेपछि विगतभन्दा अझ, व्यवस्थित तरिकाले नगरपालिकाको विकासमा अग्रसर छु । नगरपालिकाको जग बसाल्नेदेखि यहाँसम्म आउन हामीले विभिन्न काम गरेका छौँ । गुर्भाकोट विकास पथमा लम्किएको नगरपालिका हो । हामीले १८ वटा त स्वास्थ्य संस्था बनाएका छौँ । यसले नागरिकलाई सहज बनाएको छ । हिजोको दिनमा सबै वडा सडक सञ्जालमा जोडिएका थिएनन् । अहिले सबै वडामा सडक पुगेको छ । सामाजिक रूपान्तरणका क्षेत्रमा पनि काम गरिरहेका छौँ । विभिन्न संस्थासँगको साझेदारीमा विकास सम्भावना पहिचान गर्ने र आर्थिक सुदृढीकरणका कार्यमा पहल भइरहेका छन् । कृषि पेसालाई माथि उकास्न पहल भइरहेको छ । त्यसका लागि अनुदानको व्यवस्थापन, उत्पादन वृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन भइरहेकै अवस्था छ ।
तीन तहका सरकारबिच समन्वयकारी भूमिका गर्नुभएको छ कि छैन ?
संविधानतः तीन तहका सरकारबिच समन्वय, सहकार्यको भूमिका हुनुपर्ने भनिएको छ तर त्यस्तो हुन सकिरहेको अवस्था छैन । खास यो एउटा समस्याका रूपमा रहेको छ । वास्तवमा विकास निर्माणदेखि हरेक विषयमा तीन वटा सरकारबिच समन्वय हुनुपर्ने हो तर त्यो लागु भएको छैन । अझै पनि सङ्घ सरकारले कानुन नबनाउँदा स्थानीय सरकारले समस्या भोग्नुपर्ने अवस्था छ । अझ वित्तीय सङ्घीयताको कुरा गर्दा निकै समस्या छ । वित्तीय सङ्घीयताको विषयमा सङ्घ सरकारले जुन खालको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गरिरहेको छैन । बजेट, कार्यक्रम निर्माण गर्दैगर्दाको बेलामा स्थानीय सरकारसँग समन्वयन नगरिकन माथिबाटै बजेट विनियोजन भएको देखिन्छ । ससाना काम प्रदेश र सङ्घीय सरकारले गर्ने भए स्थानीय सरकारले कुन ठाउँमा गर्ने ? कुन तहको सरकारले कुन तहसम्मको अर्थात् कति बजेटसम्मको काम गर्ने भन्ने विषयमा छुट्याइनु पर्छ । योजनाको विषयमा पनि अझै अस्पष्ट छ । यसले गर्दा एकै खालका योजनामा दोहोरो बजेट विनियोजन हुने समस्यासमेत छ । तीन तहका सरकारबिच समन्वयकारी भूमिका नहुँदा यस्तो समस्या आएको हो ।
स्थानीय सरकारबाट जनताले के कस्ता सुविधा पाएका छन् ?
‘गाउँ गाउँमा सिंहदरबार’ भन्दै गर्दा जनताले पाउने सेवा सुविधा घरदैलोबाट प्राप्त गरिरहेका छन् तर अझै सहज रूपमा सेवा प्रवाहको समस्या छ, त्यसलाई सुधार्दै स्थानीय तहले काम गरिरहेका छन् । कुनै बेला सिंहदरबारमा जाँदा पनि सेवा पाउन मुस्किल हुन्थ्यो । त्यो सेवा अहिले घर नजिकको पालिकाबाट पाइरहेको अवस्था छ । सङ्घीयतापश्चात् यो एउटा सकारात्मक पक्ष हो जस्तो लाग्छ । हिजोको दिनमा केन्द्रीकृत शासन प्रणाली हुँदै गर्दा सामान्य सरकारी सेवा लिनसमेत जिल्ला र केन्द्रमा धाउनुपर्ने अवस्था थियो । कम्तीमा घरदैलोको सरकारबाट अहिले जनताका तमाम समस्या समाधान भइरहेको देखिन्छ । त्यस कारण पनि अहिले स्थानीय तहले हिजोको जिल्ला प्रशासन, जिल्ला विकासबाट सम्पादन हुने कतिपय सेवा दिइरहेका छन् । हामीले त्यो अनुसारको गतिविधि पनि सञ्चालन गरिरहेका छौँ ।
गुर्भाकोटलाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?
गुर्भाकोट नगरपालिका विकास पथमा लम्किएको नगर हो । हरेक क्षेत्रमा सुधारोन्मुख हुँदै गइरहेको अवस्था छ । धरातलीय अवस्था हेर्दा समथर भूभागदेखि उच्च पहाडी भूभाग पनि छ । उत्पादनको क्षेत्रमा निकै सम्भावना बोकेको पालिका हो, हाम्रो । त्यस कारण विभिन्न निकायसँग सहकार्य गरेर उत्पादन वृद्धिमा लागिरेहका छौँ । कृषि क्षेत्रको केन्द्रका रूपमा हामी गुर्भाकोटलाई विकास गर्न चाहन्छौँ । कृषि क्षेत्रमा आत्मनिर्भर हाम्रो लक्ष्य नै छ । अर्कोतर्फ बिस्तारै सहरीकरण भइरहेको छ । सङ्घीय सरकारले पनि नयाँ सहरका रूपमा विकास गर्ने अवधारणा ल्याइसकेपछि हामी यसलाई सुन्दर सहरका रूपमा विकास गर्न योजना बनाइरहेका छौँ । पर्यटकीय हिसाबले पनि सम्भावना भएको क्षेत्र हो । सबै सम्भावनालाई अध्ययन गरेर अघि बढिरहेका छौँ । किनकि भेरी नदी गुर्भाकोट नगरपालिकाको बिच भागबाट बगिरहेको अवस्था छ । यही नगरलाई छुने गरेर दुई वटा राजमार्ग सञ्चालित छन् । त्यसैले यसलाई पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्न सकिने विषयमा हामी लागिरेहका छौँ । तीन वर्षभित्रमा केही न केही रिजल्ट दिने गरेर हामीले काम गरिरहेका छौँ ।