बोमलाल गिरी
नवलपुर, चैत ५ गते । प्रहरीले नवलपुरबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गैँडाकोट नगरपालिका–९ थुम्सिमा डेरागरी बस्ने पश्चिम नवलपरासीका २६ वर्षीय सन्तोषकुमार गुप्ता र २६ वर्षकै विवेश तेलीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २३३ एम्पुल आएपीपीएल, २०३ एम्पुल सेरिज्याक र फेनार्गन २३० एम्पुल गरी ६६६ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध बेचेर कमाएको ४५ हजार नगद पनि बरामद गरेको जनाएको छ । धेरै समयको मेहनतपछि प्रहरीले यो सफलता हात पारेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । उनीहरू प्रयोगकर्ता नभई कारोबारी भएको प्रहरीको भनाइ छ ।
जिल्लामा गतवर्ष लागूऔषधसम्बन्धि ७७ वटा मुद्दा दर्ता भएकोमा यो आर्थिक वर्षमा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । कारोबारीले रुट परिवर्तन गरेकाले यो आवमा कम मुद्दा दर्ता भए पनि प्रहरीले लागूऔषधविरुद्ध निर्मम तरिकाले लागिरहेको उहाँको भनाइ छ ।