• ११ मंसिर २०८१, मङ्गलबार

नक्कली भुटानी शरणार्थी प्रकरण

टेकनारायणको बन्दी प्रत्यक्षीकरणको रिट अरुसँगै राख्न आदेश

blog

काठमाडौं, चैत ५ गते । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनुवामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा यससँग सम्बन्धित अन्य मुद्दासँगै (लगाउ)  राखी पेस गर्न आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।

गत मङ्सिर १५ गते उच्च अदालतले पूर्व गृहससचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पाको हकमा जिल्लाकै आदेश सदर गर्दै थुनामै राख्न आदेश गरेको हो । असार १ गते सबैलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनुवामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीसहित नौ जनालाई थुनामुक्त नगर्न पनि उच्च अदालत पाटनले आदेश दिएको थियो ।

उच्च अदालतको आदेश बेरितको रहेको कारण बदर गरी थुनुवामुक्त गरिपाऊँ भनी पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ हुँदा सोही प्रकरणसँग जोडिएका अन्य मुद्दा पनि अदालतमा रहेको कारण लगाउमै राखी सुनुवाइ हुन वाञ्छनीय देखिएको भन्दै लगाउमा राख्ने आदेश भएको हो ।

यो पनि पढ्नुहोस