• १४ मंसिर २०८१, शुक्रबार

सदरमुकामनजिक जङ्गलमा आगलागी

blog

बेनीबजार नजिकै जङ्गलमा लागेको आगो । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत ५ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारनजिक रहेको बराहपाखो जङ्गलमा भीषण आगलागी भएको छ । 

बेनी नगरपालिका–७ र ८ क्षेत्र पर्ने बराहपाखो सामुदायिक वन सदरमुकाम बेनीसँग जोडिएको जङ्गल रहेको र त्यस क्षेत्रमा आगलागी हुँदा बेनी बजारका बासिन्दाहरू त्रसित बनेका छन् ।

सोमबार दिउँसो करिब साढे ११ बजेतिर एक्कासि देखिएको आगोले भीषण रूप लिएको छ । आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीका साथै स्थानीयले आगो नियन्त्रणको प्रयास गरी रहेको भए पनि नियन्त्रणमा आउन सकेको छैन । 


बेनी नगरपालिका–७ बेनीका पहलबहादुर खत्रीका अनुसार आगो नियन्त्रणको प्रयास भएको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । बेनी नगरपालिकाको दमकलले पानी हाल्ने प्रयास गरेको भए पनि त्यो पनि सम्भव नभएको हो ।  

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले साढे ११ हाराहारीबाट सल्केको अनुमान गरिएको आगो करिब नियन्त्रणमा आएको बताउनुभयो । नेपाली सेनाले अर्थुङे तर्फबाट नियन्त्रणको प्रयास गरेको र अन्य सुरक्षा निकाय तथा स्वयंसेवक र स्थानीयले प्रयास गरी रहेकाले आगो चाँडै नियन्त्रणमा आउने प्रजिअले जानकारी दिनुभयो । आगो कसले लगायो भन्ने खुलेको छैन तर आगो लगाउने मान्छे पहिचान हुनसक्ने उहाँले बताउनुभयो ।