• १४ मंसिर २०८१, शुक्रबार

शोकमा रहेकाहरूसँग जनप्रतिनिधिको भेट

blog

मृतकका परिवारका सदस्यलाई भेट्दै जनप्रतिनिधिहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत ५ गते । वडाभित्र कसैको मृत्युको खबर सुन्नासाथ जनप्रतिनिधिको टोली गएर शोकमा रहेको परिवारका सदस्यसँग भेट र किरिया खर्च हस्तान्तरण गर्दछन् । 

शोकमा परेको परिवारलाई समवेदना र मृतकप्रति श्रद्धाञ्जली दिन जनप्रतिनिधि पुग्ने वडा हो जलजला –५ लेखफाँट । वडाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दैआएको छ । 

म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–५ को वडा कार्यालयले मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रममार्फत मृतकप्रति श्रद्धाञ्जली र परिवारजनलाई समावेदना दिनुका साथै जनप्रतिनिधिले नगद १० हजार रुपियाँ हस्तान्तरण गर्दछन् ।  

आर्थिक विपन्नताका कारण काजकिरिया खर्च जुटाउन नसकेका परिवारलाई वडाले दिने रकमले सहज भएको छ भने सम्पन्न परिवारले उक्त रकममा थपेर आफन्तको सम्झनामा विभिन्न सामाजिक कार्यमा खर्चिएका छन् ।   

प्रत्यक्ष जनतासँग नजिकको सम्बन्ध रहेको वडा कार्यालयले दुःखसुखमा साथ दिनुपर्दछ भनेर मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष तिलक जिसीले बताउनुभयो । 

आफन्त गुमाएको घरमा पुगेर किरियापुत्रीसँग गर्ने भेटघाटले दुःखमा परेका परिवारलाई सान्त्वना मिल्ने उहाँले बताउनुभयो । आफन्तको मृत्युले शोकमा रहेको परिवारजनलाई भेट्न जाँदा उनीहरूले स्थानीय सरकारको अनुभूति गरेको र कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएको वडाध्यक्ष जिसीले बताउनुभयो । 

आर्थिक अवस्था कमजोर भएका कतिपय परिवार आफन्तको मृत्यु हुँदा ऋण खोजेर काजकिरिया गर्नुपर्ने अवस्था छ । वडा अध्यक्ष जिसीले भन्नुभयो, ‘‘आर्थिक अवस्था कमजोर भएकालाई किरिया खर्चको समस्या पनि हामीले नजिकबाट देखेका छौँ । त्यसैले दुःखको अवस्थामा स्थानीय सरकार साथमा छ भन्ने महसुस गराउन र परिवारजनलाई सहानुभूति दिलाउन मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रम सञ्चालन गरेका हौँ ।’’ 

आर्थिक अवस्था कमजोर भएका परिवारका लागि सो रकमले किरिया खर्चको व्यवस्थापनमा सहयोग पुगेको छ । सबल परिवारका हकमा उनीहरूले आफन्तको सम्झनामा विद्यालयलाई सहयोग, बाटोघाटो र चौतारी निर्माण गरेर खर्च गर्नेगरेको वडाध्यक्ष जिसीले बताउनुभयो । 

वडाले प्रदान गरेको रकम आखिर समाजकै हितका लागि खर्च हुने गरेकाले यसले समाजमा सकारात्मक सन्देश समेत प्रवाह गरेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षको फागुनसम्म ११ जनासँग भेटघाट गरेको वडाध्यक्ष जिसीले बताउनुभयो । सो कार्यक्रमअन्तर्गत वडाले यस वर्ष दुई लाख रुपियाँ विनियोजन गरेको वडाले जनाएको छ ।