इमानसिं राना
रामपुर (पाल्पा), चैत ५ गते । जिल्लाको निस्दी गाउँपालिकामा चैतको अन्तिम साता दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ ।
स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्धन तथा गाउँपालिकाको पहिचानका लागि चैत २६ देखि २०८१ वैशाख ३ गतेसम्म मित्यालमा दोस्रो महोत्सव आयोजना गर्न लागिएको हो ।
‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ नारासाथ निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा महोत्सव सञ्चालन गर्न लागिएको हो ।
महोत्सवबारेमा रामपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक उमेशकुमार गाहाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृतिको प्रवर्धनका लागि दोस्रो महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
‘पालिका भित्र रहेको मगरी संस्कृति, स्थानीय उत्पादन तथा पर्यटकीयस्थलको प्रवर्धन र खेलकुदमार्फत निस्दीको पहिचान दिलाउन महोत्सव सञ्चालन गर्न लागेका छौँ’ उहाँले भन्नुभयो ।
महोत्सवको आकर्षण रूपमा स्थानीय कृषिउपज तथा हस्तकलाका सामग्रीको बिक्री वितरण, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शनी, अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, निस्दी डान्स आइडल, बालउद्यान र फोटो प्रदर्शनी रहने गाहाले बताउनुभयो ।
निस्दी खेल मैदान झ्याल्टुङ्गमा हुने महोत्सवमा ५० भन्दा बढी व्यापारिक स्टल रहनेछ । महोत्सवको तयारीका लागि एकसय एक सदस्य मूल आयोजक समितिसहित विभिन्न उपसमिति गठन गरी तयारीका कार्य भइरहेको जानकारी दिनुभयो । मेला सञ्चालनका लागि ४० लाख बढी खर्च लाग्ने आयोजकले आङ्कलन गरेको छ ।
निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरनकुमारी श्रेष्ठले महोत्सवलाई निस्दीको पहिचान र प्रचार–प्रसार गर्ने अवसरको रूपमा लिएको बताउनुभयो । मेलाले निस्दीको संस्कृतिलाई देशैभर चिनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ पाल्पाका सदस्य दुर्गेश मल्लले निस्दी कृषि, पर्यटन संस्कृतिमा अब्बल रहेको बताउँदै महोत्सवले प्रवर्धनमा थप सहयोग गर्ने बताउनुभयो । मूल आयोजक समितिका उपसंयोजक प्रदीप ज्ञवालीले मेलालाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।