• १३ साउन २०८१, आइतबार

माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो

blog

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कार्यालयमा । तस्बिर: गोरखापत्र

काठमाडौं, चैत ५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सोमबार बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । नेता महरालाई कपिलवस्तुबाट अहिले काठमाडौं ल्याइएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।


यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बयान लिएर कागज गरेर छाडेको थियो ।
यसैबीच सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिनुभएको थियो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उहाँका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।

यो पनि पढ्नुहोस

माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा