दमक समाचारदाता
दमक, चैत ५ गते । दमकको व्यस्त बजारभित्रका सडक भत्काएर अस्तव्यस्त छाडिएपछि यो निर्माणको काम छिटो अघि बढाउन स्थानीय सरकारले चासो दिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले काम गरिरहेकाले स्थानीय सरकारले सम्बन्धित निकायमा बारम्बार पत्राचार गरेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ ।
दमक नगरपालिका क्षेत्रभित्रका सडक आयोजनाको समन्वयमा ठेक्का प्रव्रिmयाद्वारा सेवरेज ढलको निर्माण परियोजना अलपत्र हुँदा बर्सातको समयमा ठुलो समस्या आइपर्ने विषयमा सचेत गराइएको थापाले बताउनुभयो । दमकमा हिँडडुल गर्नसमेत समस्या हुने गरी सडक अस्तव्यस्त बनेका छन् ।
चार वर्षअघि सुरु भएको यो परियोजनाबाट यस नगरका मुख्य र व्यस्त सडक प्रभावित भएको तथा आयोजना निर्माण कार्यमा ढिलासुस्ती हुँदा बाटोमुनि ह्युमपाइप बिच्छ्याउनेलगायतका कार्यका लागि अवरोध भएको विषयमा सबै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौँ, थापाले भन्नुभयो ।
खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक कमलराज श्रेष्ठ, उपमहानिर्देशक रामकुमार श्रेष्ठ, निर्माण व्यवसायी स्वामी नारायण निर्माण सेवाका प्रबन्ध निर्देशक सन्तोष बस्नेतलगायतको संयुक्त उपस्थितिमा दमकको सेवरेज ढल व्यवस्थापनका कारणले अस्तव्यस्त भएका सडक एक हप्ताभित्र निर्माण सुरु गर्ने सहमति भएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
झापाको दमकमा घरबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरी विद्युत् तथा मल उत्पादन गर्ने योजना सुरु गर्न २०७७ असोज २६ देखि काम सुरु गर्ने गरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत दमक नगरपालिका ढल निर्माण योजनाको काम सुरु भएको थियो ।