• १३ मंसिर २०८१, बिहिबार

झापामा एक साता अवधिमा १७ वटा आगलागी, नियन्त्रण चुनौती बन्दै

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत ५ गते । झापामा दैनिक जसो आगलागीका घटना हुन थालेपछि आगलागी नियन्त्रण चुनौती बन्दै गएको छ । जिल्लामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको छ । 

आइतबार साँझ करिब ६ बजेतिर दमकको वडा नं. ८ मा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । क्रिस्टल फर्निचर उद्योगमा लागेको आगो दमक नगरपालिकाको दमकलको साहयतामा २ घण्टामा नियन्त्रणमा आएको थियो । क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

फर्निचरका सञ्चालक मुहम्मद शाकिर हुसेनका अनुसार उद्योग बन्द गरेर निस्केको केही बेरमा अगालागी भएको हो । तत्कालै केही सामाग्री स्थानीयको सहयोगमा झिक्न पाएकाले क्षति कम भएको छ । उपकरण र केही तयारी फर्निचर जल्दा आफ्ना १० लाखभन्दा बढी क्षति भएको उहाँले दाबी गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी ढुण्डिराज गिरीका अनुसार फाल्गुण २६ गतेदेखि चैत ३ गतेसम्म एक साताको अवधिमा जिल्लाका विभिन्न पालिकामा १६ वटा आगलागीका घटना भएका छन् । अधिकांश आगलागीको कारण भने खुल्न नसकेको बताइन्छ । विद्युत् सर्ट भएर आगलागी भएको बताइने गर्छ ।

मेचीनगर नगरपालिका वडा नं. १५ को भगवती प्लाइ उद्योगमा भएको आगलागीबाट १५ करोड ३२ लाखको क्षति भएको छ । यहाँ लागेको आगो नियन्त्रण गर्न दुई दिन लागेको थियो । कन्का, शिवसताक्षी, भद्रपुर, झापा, हल्दिबारी, गौरीगञ्ज र दमकमा गरी १६ वटा आगलागीका घटना भएको उहाँले जानकारी दिनुभयो ।

मुख्य गरी विद्युत सर्ट, बालबालिकाले परालको कुन्यूनजिकै खेल्दा, परालको भुस बाल्दा, जङ्गलमा चुरोट खाएर जथाभाबी फ्याँक्नेलगायतका कारणले अगालागीका घटना भएको बताइने गरेको छ ।