• ११ मंसिर २०८१, मङ्गलबार

प्रसारण लाइन बनाउन बोलपत्र आह्वान

blog

काठमाडौँ, चैत ५ गते ।  एमसिए नेपालले न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । नवलपरासीको न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्न यो बोलपत्र आह्वान गरिएको हो ।  

मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदानमा बनाउने भनिएको विद्युत् प्रसारण आयोजना अन्तर्गत ३१५ किमी लामो प्रसारण लाइन निर्माणको प्रक्रिया जग्गा अधिग्रहण तथा ठेक्का तयारीमै अलमलिएको छ । यो अलमलले अन्तरदेशीय प्रसारण लाइन नै समयमा तयार नहुने अवस्था आएकाले सो खण्ड छुट्टै निर्माण गर्न थालिएको हो । आगामी जेठ ३ गतेसम्म बोलपत्र पेस गर्ने समयसीमा उपलब्ध गराएको प्रस्ताव अनुसार ठेकेदारले प्रसारण लाइनको डिजाइनदेखि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने छ ।  

महेशपुरदेखि गोरखपुरसम्मको ९५ किलोमिटर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड अफ इन्डियाको संयुक्त र समान साझेदारीमा कम्पनीमार्फत निर्माण कार्य जारी छ । भारततर्फको खण्ड सन् २०२६ को मेसम्म निर्माण सक्ने गरी काम हुने तर नेपालतर्फ कामै नभएको अवस्थाले गर्दा नेपाल–भारत विद्युत् व्यापारका लागि समस्या पर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले यो खण्ड छुट्टै निर्माण गर्न आग्रह गरेको थियो ।

एमसिए नेपालले गत महिना सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबिचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने भन्दै छुट्टै प्याकेजमा बनाउने निर्णय एमसिए नेपालले गरेको थियो । चार सय केभी डबल क्वाड मोज कन्डक्टरयुक्त सो प्रसारण लाइनले दुई हजार पाँच सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । न्यु बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि २०७६ असोजमै नेपाल र भारतबिच सहमतिपछि काम अघि बढेको हो ।