• १२ साउन २०८१, शनिबार

‘अर्थतन्त्र सङ्कटमा छैन’

blog

काठमाडौँ, चैत ५ गते । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको बताउनुभएको छ । नागरिक लगानी कोषको आइतबार राजधानीमा आयोजित ३४ औँ वार्षिकोत्सवका अवसरमा उहाँले अर्थतन्त्र सङ्कटमा नरहेको स्पष्ट पार्नुभयो । 

एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह राम्रो रहेको उहाँले बताउनुभयो । अर्थमन्त्री पुनले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ । अब बिस्तारै लगानी पनि बढ्छ ।” अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र सङ्कट बाहिर रहेको उहाँको भनाइ थियो । बैङ्किङ तरलता बढेर बैङ्कहरू लगानीको क्षेत्र खोजिरहेकोप्रति ध्यानाकर्षण गर्दै उहाँले पछिल्लो समय धितोपत्र बजारमा सकारात्मक सङ्केत देखिएको दाबीसमेत गर्नुभयो ।  अर्थतन्त्रमा केही शिथिलता भने रहेको उहाँको भनाइ थियो ।विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको चर्चा गर्दै अर्थमन्त्री पुनले नेतृत्वले सङ्कटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने धारणा राख्नुभयो ।

अर्थमन्त्री पुनले ६० लाख जनसङ्ख्या संलग्न धितोपत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरू प्राप्त भइरहेको जानकारी दिनुभयो । विगतमा अर्थतन्त्र सङ्कटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबिच छलफल चलिरहेको अर्थमन्त्री पुनले जानकारी दिनुभयो ।

नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठुला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि अर्थमन्त्री पुनले आग्रह गर्नुभयो । कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्नेमा उहाँको जोड थियो ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले बचत परिचालन गरी राष्ट्रिय पुँजी निर्माणको आधार तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कोषले आफ्नो व्यवसाय विस्तार, प्रतिफलयोग्य लगानी, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा योजनाबद्ध ढङ्गले काम गरिरहेको उहाँको भनाइ थियो ।

कार्यकारी निर्देशक कार्कीले लगानीलाई विविधीकरण गर्ने, जोखिम विश्लेषण गर्दै प्रतिफलयोग्य क्षेत्रमा लगानी विस्तार गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी बढाउने, कोषका कामलाई थप प्रविधिमैत्री बनाउने र सेवा प्रवाहलाई सहज बनाउँदै लैजाने गरी काम गरिरहेको जानकारी गराउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका नागरिकलाई कोषका कार्यक्रममा आबद्ध गराउन अध्ययन सुरु भएको कार्यकारी निर्देशक कार्कीले बताउनुभयो । कार्कीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात दुई खर्ब ४० अर्ब ५१ करोड रुपियाँ र दुई खर्ब ३५ अर्ब पाँच करोड रुपियाँ लगानी गरेको छ ।

कोषमा नेपाल सरकारको २३ प्रतिशत स्वामित्व छ । राष्ट्रिय जीवन बिमा कम्पनीको ३१ प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत, अरू बैङ्क तथा वित्तीय संस्थाको १५ प्रतिशत र बाँकी सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ ।