• ५ माघ २०८१, शनिबार

सुरक्षित आवास निर्माण सुरु

blog

ढल्केबर समाचारदाता

ढल्केबर, चैत ४ गते  । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, सन्तनगरमा रहेका सुकुमवासी परिवारका लागि सुरक्षित आवास निर्माणको काम सुरु भएको छ । गणेशमान चारनाथ नगरपालिका, ह्याबिट्याट फर नेपाल र सामुदायिक सुधार केन्द्र धनुषाले सन्तनगरमा रहेका ३६ सुकुमवासी परिवारका लागि सुरक्षित आवास निर्माण सुरु गरेको हो । 

घर निर्माण गर्न एक करोड ८४ लाख रुपियाँ खर्च अनुमान गरिएको छ । जसमध्ये एक करोड २४ लाख रुपियाँ नगरपालिका र ६० लाख रुपियाँ ह्याबिट्याट र सामुदायिक सुधार केन्द्रले खर्च गर्ने छन् । सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहले अव्यवस्थित बसोवासीका लागि जग्गासहितको सुरक्षित आवास निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले एउटा घर निर्माणमा पाँच लाख रुपियाँभन्दा बढी खर्च लाग्ने बताउँदै प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्सा र शौचालय निर्माण गरिने जानकारी दिनुभयो । जस्ताको छाना, बाँसको टाटीमा दुवैपट्टिबाट तारजाली राखेर घर प्लास्टर गरिने उहाँको भनाइ छ । 

अध्यक्ष साहले घर निर्माणपछि सुकुमवासी परिवारको आयस्तरमा वृद्धि ल्याउन, बालबालिकाको शिक्षा, शिशु तथा वृद्धवृद्धाको स्याहार गर्न विभिन्न कार्यव्रmम सञ्चालन गरिने बताउनुभयो । यसका लागि विभिन्न सङ्घ संस्थासँग सम्झौतासमेत भइसकेको उहाँले जानकारी दिनुभयो । 

गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले अव्यवस्थित बसोवासीका लागि जग्गा व्यवस्थासहित घर बनाइदिन लागेको बताउनुभयो । उहाँले शौचालय, खानेपानी, बिजुली बत्तीसहित पक्की घर निर्माण गरी एकीकृत नमुना बस्ती बनाउन लागिएको बताउँदै नागरिकको सुरक्षित आवासका लागि नगरपालिकाले यो योजना अगाडि बढाएको जानकारी दिनुभयो । नगर प्रमुख यादवले सन्तनगरमा रहेको ४३ बिघा नदी उकास जग्गामा सुकुमवासी बस्ती निर्माणको काम सुरु भएको र घर निर्माणपछि एक घरपरिवारलाई १० धुर जग्गाको लालपुर्जासमेत बनाइदिएर प्रदान गरिने बताउनुभयो । 

सन्तनगर बस्तीमा दुसाद, मण्डल, यादव र थारू गरी ३६ घरधुरी अव्यवस्थित बसोवासी छन् । वर्षौंदेखि खरको झुपडीमा बस्दै आउनुभएका उहाँहरू जग्गाको स्वामित्वसहित बसोबासका निम्ति पक्की घर बन्ने भएपछि खुसी देखिनुभएको छ । शनिबार एक कार्यव्रmममा मधेश प्रदेश सभा सदस्य सञ्जय महतो, गणेशमान चारनाथ नगरपालिका नगर प्रमुख जितनारायण यादव र उपप्रमुख तुलसाकुमारी पाण्डेले संयुक्त रूपमा सुकुमवासी बस्ती निर्माणको शिलान्यास गर्नुभयो ।