काठमाडौँ, चैत ४ गते । राष्ट्रिय सभामा रिक्त रहेका दुई समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । सभाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापतिको निर्वाचन गर्न लागेको हो ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले उम्मेदवारीको प्रस्ताव दर्ताका लागि तोकिएको समयभित्र दुवै समितिको सभापतिमा एक एक जनाको मात्रै प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि १२ बजेर ३० मिनेटसम्मको समय तोकिएको थियो ।
सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेकपा (एमाले) बाट निर्वाचित सदस्य सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाली कांग्रेसबाट निर्वाचित सदस्य कमला पन्तको उम्मेदवारी दर्ता भएको हो ।
सहायक प्रवक्ता धमलाले राजनीतिक दलहरूबिच दुवै समितिको सभापति सर्वसम्मत निर्वाचित गर्ने सहमति भएबमोजिम उम्मेदवारी दर्ता भएको बताउनुभयो । रिक्त रहेका दुईमध्ये एउटामा कांग्रेस र अर्कोमा एमालेले सभापति पाउने दलहरूबिच सहमति भएको हो ।
एमालेका शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी तथा समर्थकमा एमालेका इन्दिरादेवी गौतम र कांग्रेसका दुर्गा गुरुङ हुनुहुन्छ । कांग्रेसका पन्तको प्रस्तावक कांग्रेसकै नारायणदत्त भट्ट र समर्थकमा एमालेका शारदादेवी भट्ट हुनुहुन्छ ।
राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि फागुन २१ गते सकिँदा दुई समितिको सभापति पद रिक्त भएको थियो । संशोधित राष्ट्रिय सभा नियमावलीबमोजिम रिक्त भएको १५ दिनभित्र सभापतिको चयन हुनुपर्ने हुन्छ । सो व्यवस्थाबमोजिम चैत ५ गतेभित्र रिक्त रहेका दुवै समितिले सभापति पाउनुपर्ने हुन्छ ।
सहायक प्रवक्ता धमलाले दुवै समितिको बैठक चैत ५ गते आइतबार बस्ने जानकारी दिनुभयो । उहाँले उम्मेदवारीको एकल प्रस्ताव दर्ता भएकाले समितिको आइतबारको बैठकमा छलफलपछि अध्यक्षता गर्ने सदस्यले समितिको सभापति निर्वाचित भएको घोषणा गर्ने बताउनुभयो ।
माथिल्लो सदनको सबैभन्दा ठुलो दल माओवादी केन्द्रबाट निर्वाचित सदस्य मायाप्रसाद शर्मा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित जयन्तीदेवी राई विधायन व्यवस्थापन समितिको सभापति हुनुहुन्छ ।