• १३ मंसिर २०८१, बिहिबार

पहिचानवादी एक हुनुपर्छ : राजेन्द्र महतो

blog

तौलिहवामा राष्ट्रिय मुक्ति अभियानले आयोजना गरेको कार्यक्रम। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), चैत ३ गते। राष्ट्रिय मुक्ति अभियानका संयोजक राजेन्द्र महतोले अब देशभरका पहिचानवादी एक भएर एकात्मक राज्य सत्तालाई अन्त्य गर्नुपर्ने दिन आएको बताउनुभएको छ।  राष्ट्रिय मुक्ति अभियान कपिलवस्तुले आयोजना गरेको राष्ट्रिय मुक्ति क्रान्ति बृहत् सम्वादात्मक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। 

महतोले नेपालमा पहिचानवादी एक भएर उभिन नसक्दा एकल राज्यको सञ्चालकलाई सहज वातावरण निर्माण भएको बताउनुभयो।  उहाँले देशमा शासन र संविधान आफ्नो हित, कुर्सीका लागि सीमित भएको आरोप समेत लगाउनुभएको छ।

महतोले शासन र संविधान जनताका लागि र नेपाल सबै नेपालीका लागि बनाउन बहुल राष्ट्रिय राज्य स्थापनाबाहेक अरू कुनै उपाय नरहेको दाबी गर्नुभयो। बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको उहाँको भनाइ छ।

कार्यक्रम राष्ट्रिय मुक्ति अभियानका कपिलवस्तुका संयोजक रविदत्त मिश्रको अध्यक्षतामा भएको हो।