• १३ असोज २०८१, आइतबार

कराते महासङ्घको साधारण सभा सम्पन्न

blog

कराते महासङ्घको साधारण सभाको उद्घाटन गरिँदै । तस्बिर : सौजन्य राखेप

काठमाडौँ, चैत ३ गते । नेपाल कराते महासङ्घले आफ्नो वार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न गरेको छ । शुक्रबारदेखि मधेस प्रदेश स्थित निजगढमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

साधारण सभामा मधेस प्रदेश सांसद माननीय मीना लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा कराते खेलले हासिल गरेको उपलब्धी खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताउनुभयो ।

उहाँले एक वर्षअघि लामो समयदेखि विवादित रहेको करातेलाई एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिका खेलक्षेत्रको चलायमन रहेको खेल करातेप्रति न्याय गरेको बताउदै जसको फलस्वरुप १९औँ एशियन गेम्समा करातेले रजत पदक हाशिल गरेको बताउनुभयो ।साधारण सभामा नेपाल कराते महासङ्घका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न सात प्रदेशका प्रतिनिधि, पर्यबेक्षक लगायत एक सय जना सहभागीता रहेको थियो । 

साधारण सभामा, नेपाल कराते महासङ्घ कार्यसमितिले पेश गरेको बिधान संसोधन प्रस्तावलाई प्रथम साधारण सभाबाट अनुमोदन गरिएको छ । यस्तै महासचिव दावा गुरुङगले २०७९ माघ १२ देखि २०८० साल चैत्र सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरि महासङ्घको आर्थिक वर्ष २०८०/०८१ को आय ब्यय सहित वार्षिक कार्यक्रममा भएको आर्थिक विवरणहरु कोषाध्यक्ष किशोरप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको थियो । 

महासङ्का अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको बताउनुभयो ।