• १३ साउन २०८१, आइतबार

पाथीभरा केबलकारको विरोधमा यातायात व्यवसायी

blog

ताप्लेजुङस्थित तीन हजार ७९४ मिटरको उचाइमा रहेको तीर्थस्थल पाथीभरा धाम। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३ गते। ताप्लेजुङका यातायात व्यवसायीले पाथीभरा (मुक्कुमलुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाको विरोध गरेका छन्। स्थानीय सरोकारवालाको भावनाविपरीत केबलकार निर्माण गर्न लागिएको भन्दै यातायात व्यवसायीले परियोजनाको विरोध गरेका हुन्।

स्थानीय यातायात व्यवसायीले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाथीभरा केबलकारको विरोध गरेका हुन्। स्थानीयको भावनाविपरीत साथै आदिवासी भूमि र धार्मिक तथा साँस्कृतिक स्थलमाथि अतिक्रमण गर्न खोजिएकोभन्दै यातायात व्यवसायीहरु केबलकार परियोजनाको विरुद्धमा उभिएका हुन्। 

“पवित्र धार्मिकस्थल पाथीभराको छुट्टै साँस्कृतिक परम्परागत मान्यता र विशेषता रहेको छ। पाथीभराको विल्कुल असंशोधित धार्मिक मान्यता र विशेषता भएकाले यसको महत्व समाप्त हुनेगरी केबलकार निर्माण गर्नुको कुनै सार्थकता हुँदैन” यातायात व्यवसायीले विज्ञप्तिमा उल्लेख गरेका छन्। ऐतिहासिक धार्मिकस्थल भएकाले यहाँका आदिवासी थाक्थुङ (लिम्बू) समुदायसँग छलफल गरेर मात्र मुन्धुमी मान्यताअनुसार पाथीभराको विकास गर्नु आवश्यक हुने पनि व्यवसायीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यातायात व्यवसायीले केबलकार परियोजनाको सुरुदेखि नै विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। केबलकार विरुद्धको आन्दोलनमा यातायात व्यवसायीको ऐक्यवद्धता प्रेस विज्ञप्तिमा मात्र सीमित नहुने उल्लेख गरेका छन्। 

पाथीभरा दर्शनमा आउजाउ गर्ने हजारौं भक्तजनलाई सेवा दिँदै आएको यातायात व्यवसायमा प्रभाव पुग्नेगरी केबलकार निर्माणको काम थालेमा सशक्त सङ्घर्षमा उत्रनेसमेत व्यवसायीको चेतावनी छ। केबलकार परियोजनाविरुद्ध मेवा ताप्लेजुङ यातायात प्रालि, हिमाल यातायात प्रालि, पाथीभरा यातायात सेवा प्रालिसहित विभिन्न १३ वटा यातायात व्यवसायसम्वद्ध संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका हुन्।

यता मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले केबलकार परियोजना निर्माणको प्रस्ताव गरेदेखि नै विरोध गर्दै आएको छ। पाथीभरा (मुक्कुमलुङ) आदिवासी जनजाति लिम्बू समुदायको पवित्र धार्मिक मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गर्न नहुनेभन्दै समिति सङ्घर्षरत रहेको छ। समितिले केबलकारविरुद्ध जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिँदै आइरहेको छ।

पाथीभरामा उद्योग बाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो। केबलकार परियोजना निर्माणका लागि प्रालिले सबै प्रक्रिया पूरा गरी निर्माणको काम थाल्ने अन्तिम तयारी गरिरहेको छ।