• १३ असोज २०८१, आइतबार

आरबीबीएल इशान कप फुटसल सुरु

blog

पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, चैत ३ गते । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा शनिबारदेखि आरबीबीएल तेस्रो इशान कप फुटसल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उपकार्यकारी प्रमुख देवेन्द्ररमन खनाल र आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

पहिलो दिन समूह चरणका २१ खेल सम्पन्न भए । जसमा नेपाल वायुसेवा निगम ‘ए’ ले नागरिक उड्डयन प्राधिकरणलाई १–०, नेपाल बैंक लिमिटेडले नेपाल विद्युत प्राधिकरण ‘ए’ लाई ५–२, एभरेष्ट बैंक लिमिटेडले नेपाल टेलिभिजन (एटीभी) लाई ३–०, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले एनएलजी इन्स्योरेन्सलाई ३–०, सीटीइभीटीले राष्ट्रिय वाणिज्य बैंकलाई २–०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनक शिक्षा सामाग्री केन्द्रलाई ३–२, नेपाल आयल निगमले माछापुच्छ्रे बैंकलाई ४–३, कृषि विकास बैंक लिमिटेडले वायुसेवा निगम ‘बी’ लाई ५–०, वायुसेवा निगम ‘ए’ ले नागरिक लगानी कोषलाई १–०, एनएलजीले एनटीभीलाई ७–३ र केयुकेएलले एभरेष्टलाई २–० गोलले पराजित गरेको छ । 

सोल्टीमोडस्थित चैत्य फुटसलमा भइरहेको प्रतियोगिताको समूह चरणको अन्य खेलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सीटीइभीटीलाई २–०, राष्ट्रिय वाणिज्य बैंकले जनक शिक्षालाई १–०, आयल निगमले कृषि विकास बैंकलाई २–०, विद्युत प्राधिकरण ‘बी’ ले  माछापुच्छ्रेलाई २–१, नेपाल बैंकले नागरिक लगानी कोषलाई ३–०, एभरेष्टले एनएलजीलाई २–१, सीटीइभीटीले जनक शिक्षालाई ३–१ र विद्युत प्राधिकरण ‘बी’ ले कृषि विकास बैंकलाई २–१ ले हरायो ।

नागरिक उड्डयनले नेपाल बैंकसंग १–१ तथा विद्युत प्राधिकरण ‘ए’ सँग २–२ गोलको बराबरी खेल्यो । प्रतियोगितामा १६ संस्थाका १८ टोलीको सहभागिता रहेको छ । शीर्ष तीन स्थानमा रहने टोलीले क्रमश: ५० हजार, ३० हजार र २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल सोमबार हुनेछ ।