• १३ साउन २०८१, आइतबार

कांग्रेसको संगठन बलियो बनाउने मौकाः महामन्त्री थापा

blog

नेपाली कांग्रेस कास्कीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापा । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, चैत ३ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काएर भत्किएपछि कांग्रेसलाई संगठन बलियो बनाउने मौका मिलेको बताउनुभयो ।

नेपाली कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमा अहिले नयाँ ऊर्जा र शक्ति आएको हुनाले वर्तमान परिवेशमा निराश नभई अनुकूल अवसरका रुपमा लिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले हामी भित्रको शक्ति कति छ भन्ने कुरा देखाएर जाने हो भने ०८४ को चुनावको नेतृत्व गर्ने पालो कांग्रेसकै आउने र निर्वाचन गराउने दायित्व समेत कांग्रेसको हुनेछ ।’ सरकारको नेतृत्व कांग्रेसले चाहेर नभई सरकारले नै पछ्याएर आउने दाबीसमेत उहाँले गर्नुभयो । पार्टी भित्र रहेका केही विसंगति र बेतिथिलाई सुधार गरी अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

महामन्त्री थापाले महासमितिमा के के भयो र गठबन्धन किन गयो भनेर चिन्ता लिनुको अर्थ नभएको बताउँदै उप्रारान्त कांग्रेसले यस्तो गठबन्धन कहिल्यै नगर्ने समेत ठोकुवा गर्नुभयो । सुन काण्डका बारेमा बोल्नुहुँदै थापाले सिआइबीले शक्तिशाली नेता र नेताका छोरालाई कार्बाही गर्न नसकेको भन्दै कार्वाही गर्नका लागि छानविन आयोग सही रहेको समेत धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कार्यकर्तालाई सकारात्मक ऊर्जा लिएर पार्टी संगठनमा लाग्न आग्रह गर्नुभयो ।