• १६ भदौ २०८१, आइतबार

मुलुकको आवश्यकता अनुसार सहकार्य गरेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

blog

पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीलाई पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।

रमेश पौडेल/फडिन्द्र अधिकारी

पोखरा, चैत ३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरणमा हेरफेर भए पनि मुलुकको आवश्यकताअनुसार प्रमुख राजनीतिक पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ।

बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति बनाएर नै मुलुकको समृद्धिको यात्रालाई अगाडि बढाउने दृढता व्यक्त गर्नुभयो। उहाँले सरकार परिवर्तन भएपनि विकास र समृद्धिको यात्रामा अवरोध नआउने दाबी गर्नुभयो। सरकारले सुशासन, सामाजिक न्याय र रोजगारीका अवसरलाई वृद्धि गर्न हाल नेपालमा आउने पर्यटकको संख्यालाई दोब्बर बनाउने लक्ष्यमा रहेको बताउनुभयो।

सत्ता सहकार्य फेरिए सँगै उद्योग व्यवसायलाई प्रोत्साहित गर्न नियमानुसार काम गर्ने व्यवसायीलाई दुःख नदिन निर्देशन दिइसकेको समेत स्पष्ट पार्नुहुँदै सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने विश्वास दिलाउनुभयो। 

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका बारेमा  भारत र चिनमा पहल बढाएको र निजी क्षेत्रले देखाएको चासोमा जानकार रहेको बताउनुभयो। मुग्लिन–पोखरा सडक निर्माणमा भएको ढिलाइका कारण परेको असरको बारेमा प्रधानमन्त्री कार्यालयबाट निरीक्षण र अनुगमन भइरहेको उहाँले बताउनुभयो।

पोखरामा भएको गल्फ प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन मद्दत पुगेको उल्लेख गर्नुहुँदै आफ्नो जन्मस्थान पोखरा आउँदा आफूलाई माइती आएको आभाष भएको बताउनुभयो।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकलाई सकारात्मक सोच र ऊर्जाको खाँचो रहेको औँल्याउँदै पोखरामा सकारात्मक सोच प्राप्त भएको बताउनुभयो। ‘मुलुक डुबिसकेको छैन्, अप्ठ्यारो हिजो पनि थियो र आज पनि छ। यसको सामना सबै मिलेर गर्नुपर्छ अनि मात्र मुलुक बन्छ’ उहाँले भन्नुभयो।

संघीय सांसद विद्या भट्टराईले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभयो। पोखरा महानरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा  हुने यस गल्फ प्रतियोगितालाई वार्षिक क्यालेण्डरमा समावेश गर्न आग्रह गर्नुभयो। 

त्यस्तै एनसेलका सिइओ जाभोर काइनो, बाह्रखरीका कार्यकारी अध्यक्ष प्रतिक प्रधानलगायतले पोखराको पर्यटनका बारेमा बोल्नुभएको थियो। विभिन्न ९ विद्यामा प्रतिस्पर्धा भएको सो गल्फ प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरिएको थियो।