• ५ माघ २०८१, शनिबार

‘समय सुहाउँदो शिक्षा आवश्यक’

blog

राष्ट्रपति रामचन्द्र पौडेल लहान–७ स्थित रहेको पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वाको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

जीवछ यादव
लहान, चैत ३ गते । 
राष्ट्रपति रामचन्द्र पौडेललेले देशको समृद्धि र विकासको आधार नै समय सुहाउँदो शिक्षा आवश्यक रहेको बताउनु भएको छ । लहान–७ स्थित रहेको पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वाको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

तराई मधेशमा गौरव गर्ने शैक्षिक इतिहास बोकेको यस विद्यालयले समय सुहाउँदो रोजगारी दिइने शिक्षामा जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘लहानमा जुम्ल्याहा सहिद राम लक्ष्मण, राजनीतिक चिन्तक प्रदीप गिरी र परिवर्तनको पक्षमा जहिलेपनि अगुवाइ गर्ने लहान समृद्धि र विकासको आधार रहेको समय सुहाउँदो शिक्षा दिन हीरक जयन्तीको अवसरमा विद्यालयले प्रण लिन आवश्यक छ ।’’

विश्व परिवेश र राष्ट्रिय आवश्यकता पूर्ति गर्नका लागि गुणस्तरीय, संस्कार संस्कृति र सामाजिक एकतालाई सधैँ कायम राख्ने शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै सामुदायिक विद्यालयको सुधारमा तीनै तहको सरकारले लगाएको लगानी अनुसारको निगरानी आवश्यक रहेका तर्क गर्नुभयो ।

राष्ट्रपति पौडेलले थप्दै भन्नुभयो, ‘‘तराई/मधेश यो देशको समृद्धिको आधार भएकोले सामाजिक विकृति हटाउन र स्वदेशमै रोजगार सृजना गर्ने शिक्षा दिनपनि त्यतिकै आवश्यक छ । विद्यालयहरूमा चलिरहेको प्राविधिक र मानवीय दुवै शिक्षालाई समय सुहाउँदो बनाएर अघि बढौँ ।’’

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले आफूपनि यही विद्यालयमा खेल्नुहुँदै पढ्दै हुर्केको स्मरण गर्दै भन्नुभयो, ‘‘यो विद्यालय तराई मधेशकै एउटा सम्पन्न र शैक्षिक उन्नयनमा ठुलो योगदान गरेको छ । यस विद्यालयबाट उत्पादन गरेका विद्यार्थीहरू देशको विभिन्न क्षेत्रमा उच्च ओहदामा काम गरिरहेका छन् । यस विद्यालयले ज्ञान विज्ञानको क्षेत्रमा अझै महत्त्वपूर्ण भूमिका खेल्ने भौतिक र शैक्षिक सम्भावना भएका विद्यालयहरूको श्रेणीमा रहेको छ ।’’

तराई मधेश विकासको प्रचुर सम्भावना भएको प्रदेश भए पनि शिक्षा र विकासमा अन्य प्रदेशको तुलनामा पछि परिरहेको अवस्थामा सिरहा र सप्तरीको पश्चिमी भेगमा समय सुहाउँदो शिक्षाको लागि पशुपति माध्यमिक विद्यालयले अभिभावकको भूमिका निर्वाह गर्नेगरी शैक्षिक उचाइ अझै बढाउनुपर्ने सप्तरी–४ का सङ्घीय सांसद तेजुलाल चौधरीले शुभकामना दिनुभयो ।

पूर्व उद्योग राज्यमन्त्री पदमनारायण चौधरीले सेवा प्रवाह गर्ने क्षेत्रहरूमा राजनीति हस्तक्षेप गर्न नहुने तर्क गर्दै पशुपति आदर्श माध्यमिक विद्यालयको स्थापनाका लागि बाल ब्रम्हचार्य दामेदरानन्दको प्रेरणाबाट मटियर्वा डौरहीका चौधरी परिवार बजार क्षेत्रका शारदा मुरारका परिवार, साह, गुप्ता परिवार र ग्रामीण क्षेत्रका व्यक्तिहरूले समेत सहयोग गरेर २००५ सालमा यस विद्यालयको स्थापना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘२०५५ सालमा स्वर्ण जयन्ती मनाउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र हीरक जयन्ती समारोह मनाउँदा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएर यस विद्यालयको प्रगतिको लागि हौस्याउनु भएकोमा धन्यवाद ज्ञापन गर्दछौ ।’’

विद्यालयमा जग्गादान गरेर योगदान गरेका र विद्यालय निर्माण गर्न प्रेरित गर्नु भएको बालब्रम्हचर्य दामोदारान्नन्दसहित सात जनाको सालिक विद्यालय हाताभित्र राष्ट्रपति पौडेलले अनावरण गर्नुभएको थियो भने विद्यालयको विकासमा योगदान गरेका २३ जनालाई प्रमाणपत्र सहित सम्मानित गर्नुभएको थियो ।