• १३ साउन २०८१, आइतबार

बज्रगुरु मन्त्रजप पूजाको तयारी अन्तिम चरणमा

blog

पत्रकार सम्मेलनमा पाँचौं बज्रगुरु मन्त्र जप पूजाको तयारीबारे जानकारी गराइँदै।तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३ गते। ताप्लेजुङमा नियमित आयोजना हुँदै आएको बज्रगुरु मन्त्र जप पूजाको तयारी अन्तिम चरणमा पुगेको छ।यहाँका बौद्धमार्गीले यसवर्ष पाँचौँ पटक बज्रगुरु मन्त्र जप आयोजना गर्न लागेका र तयारी अन्तिम चरणमा पुगेको हो ।

पाँचौँ ताप्लेजुङ बज्रगुरु मन्त्र जप मूल आयोजक समितिले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।बौद्धमार्गीको महत्त्वपूर्ण पूजाका रूपमा रहेको बज्रगुरु मन्त्र जप यही चैत १० देखि १२ गते तीन दिनसम्म आयोजना गर्न लागिएको छ ।

आयोजक समितिका अध्यक्ष थुप्तेन जिग्ड्रोल (फुपुछेम्बे शर्पा) का अनुसार विश्व शान्ति तथा समस्त प्राणीको हितार्थ साथै भौतिक सुख र मानव शान्तिको कामना गर्दै नियमित बज्रगुरु मन्त्र जप पूजा आयोजना गर्ने गरिएको हो।बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका थुप्तेन जिग्ड्रोलले भौतिक सुख तथा आध्यात्मिक चिन्तनका माध्यममार्फत मनमा शान्ति मिल्ने बताउनुभयो।

यस्तै देशको शान्ति र समृद्धिमा सहयोग पुग्ने अपेक्षासहित बज्रगुरु मन्त्र जप आयोजना गर्न लागेको पनि उहाँले बताउनुभयो।उहाँका अनुसार बौद्धमार्गीहरुको पूजा कार्यक्रमजस्तो देखिए पनि बज्रगुरु मन्त्र जपमा सबै धार्मिक आस्थाका नागरिकले सहभागिता जनाउँदै आएका छन्।

उहाँले मन्त्र जप पूजा धार्मिक सद्भावको आकर्षणको केन्द्र नै बन्दै गएको दाबी पनि गर्नुभयो।मानिसलाई नैतिकवान् बनाउने र दया, माया र करुणा भाव प्रदर्शन गर्ने नै सबै धर्ममाथिको उद्देश्य रहने भएकाले मन्त्र जपमा भक्तजनको आकर्षण हुने गरेको उहाँको भनाइ छ ।

यस वर्षको मन्त्र जपमा प्रमुख लामाका रूपमा दिल्गो खेन्चे याङसी रिन्पोछेको उपस्थिति रहने आयोजक समितिका सदस्यसचिव पासाङरिता शेर्पाले जानकारी दिनुभयो।विगतमा झैँ यसवर्ष पनि तीन दिने बज्रगुरु मन्त्र जप पूजामा न्युनतम् ३० देखि ५० हजार भक्तजनले सहभागिता जनाउने अपेक्षा राखिएको शेर्पाले बताउनुभयो।

ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लाका भक्तजनको मन्त्र जपमा सहभागिता आयोजकले जनाएको छ।आयोजकका अनुसार भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजनहरू मन्त्र जपमा सहभागी हुने छन्।मन्त्र जप पूजा सदरमुकाम नजिककै पर्यटकीयस्थल सुकेटारमा आयोजना गरिने भएको छ।