• १४ मंसिर २०८१, शुक्रबार

ढुवानीसम्बन्धी छुट्टै कानुन आवश्यक

blog

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी । फाइल तस्बिर

काठमाडौं, चैत ३ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ । मन्त्री गिरीले सार्वजनिक यातायात सेवा ऐन, सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक सडक सुरक्षा सम्बन्धी विधेयकले ढुवानी व्यवसायीहरूको समस्या समाधान हुन नसक्ने आफूले महसुस गरेको उल्लेख गर्नुहुँदै उनीहरूको समस्या समाधानका लागि छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको हो ।

मन्त्री गिरीले भन्नुभयो, ‘ढुवानी व्यवसायी क्षेत्रसँग सम्बन्धित दुई/तीन वटा विधेयक निर्माणको तयारीमा छ । एउटा सार्वजनिक यातायात सेवा ऐन । भौतिक मन्त्रालयमा अध्ययनको क्रममा छ । यसले तपाईँहरूको समस्या समाधान गर्लाजस्तो लागेको छैन । सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक अहिले मन्त्रालयमा अध्ययनको क्रममा छ । अर्को, सार्वजनिक सडक सुरक्षा सम्बन्धी पनि अध्ययनको क्रममा छ । ढुवानी सेवा सम्बन्धी छुट्टै एउटा ऐनको आवश्यकता महसुस हुन्छ । तीन करोड नेपाली जनतामध्ये एउटा सांसद तपाईँहरू पनि हो । सार्वभौमसत्ता सम्पन्न मुलुकमा सबै नागरिकहरू आफैँमा एउटा सांसद हो । आफैँमा एउटा प्रतिनिधि हो । सबैले आफ्ना कुराहरू नीति निर्माणमा कहीँ न कहीँ प्रतिविम्बित गर्ने अधिकार छ ।’’

शनिबार काठमाडौँमा आयोजित ढुवानी व्यवसायी महासङ्घ, नेपालको कार्यक्रममा बोल्नुहुँदै मन्त्री गिरीले त्यो ऐन निर्माणका लागि आफैँले ड्राफ्ट तयार पारेर सो सम्बन्धी कानुन निर्माणमा सहयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले कानुनको माध्यमबाट ढुवानी व्यवसायीहरूको समस्या समाधान गर्न आफू जिम्मेवार भएर लागिपर्ने आश्वासन समेत दिनुभयो ।मन्त्री गिरीले कानुन निर्माणको काममा सम्बन्धित क्षेत्रको सहयोगको आफूले अपेक्षा गरेको पनि बताउनुभयो ।