• १३ मंसिर २०८१, बिहिबार

महोत्सव सफल पार्न तयारी तीव्र

blog

आफ्ना धारणा राख्नुहुँदै नाट्टा बाँकेका च्याप्टर अध्यक्ष श्रीराम सिग्देल । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत ३ गते । आगामी चैत ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यसाथ नेपालगन्जको वाटरपार्कमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्दैछ ।

महोत्सवलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले शुक्रबार जिल्लास्थित सम्बद्ध सरोकारवालासँग आवश्यक छलफल गरेको छ ।

जिल्लास्थित सम्बद्ध सरोकारवालासँगको छलफलमा सहभागीले सुस्ताउँदैगएको व्यापार व्यवसायलाई चलायमान बनाउन यस्ताखाले मेला महोत्सवले उत्प्रेरणा दिने भन्दै सफलताका लागि आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मेला महोत्सवबाट नेपालगन्जको मौलिक पक्षको प्रवर्धन गर्नुपर्ने जोड दिँदै नाट्टा बाँकेका च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको व्यापारलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले पर्यटनलाई समेत जोडेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । जिल्ला कृषि सङ्घ बाँकेका अध्यक्ष लोकेन्द्र चन्दले महोत्सवलाई नेपालगन्जको ब्रान्डिङसँग जोडेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगद्वारा उत्पादित विभिन्न बस्तुको बजारीकरणका लागि प्रदेशस्तर महोत्सव गर्न लागिएको बताउनुभयो ।

महोत्सवमा २५० देखि ३०० वटासम्म स्टलहरू राखिने जनाउँदै अध्यक्ष खड्काले स्टलमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका सामग्रीहरू प्रदर्शनी गरिने बताउनुभयो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा हरेक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका महासचिव जीआर भुसालले महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

छलफलमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य रामसरण बिसी, महासङ्घ अन्तर्गतकै लुम्बिनी प्रदेश महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष शर्मिला खत्री, प्रदेश सदस्य सतिस अधिकारी, नेपालगन्ज नगर समिति अध्यक्ष दिला शाह, नेपाली उपभोक्ता संरक्षण महासङ्घ बाँकेका उपाध्यक्ष रुपा ओझालगायतले स्थानीय उत्पादन र पर्यटन प्रवर्धनसँगै बजारीकरणमा उल्लेख्य सहयोग पुग्ने महोत्सवलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।