• ५ माघ २०८१, शनिबार

‘तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो’

blog

राष्ट्रपति रामचन्द्र पौडेल शहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि मटिहानी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

महोत्तरी, चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले शनिबार मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि मटिहानी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नु छ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता ।’’ 


राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि उनीहरूको मौलिक हक, अधिकारका लागि सङ्घर्षका गर्ने क्रान्तिको कोरिडोर हो, मटिहानीदेखि सिन्धुली, ओखलढुङ्गाहुँदै सगरमाथाको भूमि भएको बताउनुभयो । उहाँले मधेशलाई प्रजातन्त्रको भूमिका रूपमा हामीले सम्मान गरिरहेको बताउनुभयो ।

राष्ट्रपति  पौडेलले हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताउनुभयो ।

उहाँले संविधानमा अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि  ती सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य भएको स्पष्ट गर्नुभयो ।


उहाँले राजनीतिक रूपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौँ तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ भन्नुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ ।”

नेपाली जनताको ठुलो सङ्घर्ष, बलिदान र त्यागबाट आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेका छौँ भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको छ भन्नुभयो ।

उहाँले हामीले प्रशासनिक रूपमा राज्यको पुनः संरचना गर्‍यौ र तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ भन्दै तर, राज्यको चरित्रको भने पुनः संरचना हुन र हामीले केन्द्रित गरेर राखेको अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँकी रहेको धारणा व्यक्त गर्नुभयो । “अब यसका लागि हामीले विलम्ब गर्न हुन्न भन्ने मलाई लाग्छ, संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको म यहाँहरूसमक्ष स्मरण गर्न चाहन्छु”, उहाँले भन्नुभयो । 

एकदलीय शासन व्यवस्थालाई जरैसँग उखेल्ने  कठिन र दुरूह सङ्घर्ष अनि त्याग र बलिदानका कैयौँ कष्टकर दिनहरूमा आफूलाई न्यौछावर गरेर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र सङ्गठनलाई नेपाली भूमिमा बलियो, सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविश्राम खटेको एक योद्धाको नाम केशव कोइराला कोइराला भएको उहाँले उल्लेख गर्नुभयो ।

“ओखलढुङ्गाको पूर्वी गाउँ छहरे कोइराला गाउँमा जन्मेर प्रचुर धन सम्पत्ति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारमा सहभागी हुनु भएका केशव कोइराला कुशल सङ्गठनकर्ता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो, ओखलढुङ्गामा जन्मेर राजविराज झरेर केशव लगायतले मधेशमा प्रजातन्त्रको पक्षमा चलाएको जागरण अभियानका कारण आज पनि मधेश प्रजातन्त्रका पक्षमा सतिसाल झैँ उभिरहेको छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।


यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आह्वान गर्नुभयो । उहाँले जनता आफैँले बनाएको नेपालको संविधान कार्यान्वयन गरेर आज हामीले नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजगारीमार्फत समृद्धिको यात्रामा अघि बढ्ने राष्ट्रिय दायित्व पूरा गर्न लागि पर्नुपर्ने छ भन्ने हेक्का हामी सबैले राख्न जरुरी भएको उहाँको भनाइ थियो ।

उहाँले संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयन गरी खासगरी विपन्न, पिछडिएका र गरिब जनताको जीवनस्तर माथि उठाउन सक्यौ भने मात्र लोकतन्त्रको सार र सार्थकता यथार्थमा रूपान्तरण हुनेछ भन्नुभयो ।

लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता सहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । केशव कोइराला र गणेश नेपालीको सालिक नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि भएका सङ्घर्ष, त्याग र आरोह अवरोह बुझ्ने एउटा जीवन्त इतिहास भएर रहिरहने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

यस अघि आजै बिहान राष्ट्रपति पौडेलले जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम् पूजा अर्चन गर्नुभयो । त्यस्तै उहाँले पिपरमा रहेको लोकतान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नुभयो ।

‘तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो’ ‘तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो’ ‘तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो’ ‘तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो’