• १४ मंसिर २०८१, शुक्रबार

सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी

blog

शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, चैत ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।

कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूलाई पनि मस्यौदा बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् कार्यदलका सदस्य डा. मुकुल ढकालले बताउनुभयो । उहाँले पाँच राजनीतिक दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको र सोही कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,  ‘‘पाँच राजनीतिक दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रत्येक दलबाट दुई/दुई जना सदस्यहरू हुनुहुन्थ्यो । उक्त कार्यदलले आज आफ्नो प्रतिवेदन, जसलाई हामीले पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प भनेका छौँ । त्यो प्रधानमन्त्री र शीर्षस्थ नेताहरूलाई बुझाएको छौँ ।’’

कार्यदलका सदस्य डा. ढकालले शीर्ष नेताहरूले मस्यौदालाई अन्तिम रूप दिई सोमबारसम्म सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभयो । साझा न्यूनतम कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाहरू विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्ने विषयहरू समेटिएको बताउनुभयो ।