काठमाडौं, चैत ३ गते । सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरिएको हो ।
सत्ता साझेदार दलहरूले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र) बाट अर्थमन्त्री एवम् उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी हुनुहुन्थ्यो ।
कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल हुनुहुन्थ्यो । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएको थियो । रासस