• १४ मंसिर २०८१, शुक्रबार

ऐतिहासिक भैरवी डाँडा जाने बाटो ढलान

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत ३ गते । गोरखाको गण्डकी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल भैरवी डाँडा पुग्ने बाटोको ढलान कार्य तीव्र पारिएको छ । गाउँपालिका–७ सिमालटारदेखि त्यस ऐतिहासिक ठाउँ भैरवी डाँडा सम्म पुग्न निकै सास्ती भोग्नु परेकाले गाउँपालिकाको विशेष पहलमा बजेट माग गरी ढलान गर्ने कार्य अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेनाले जानकारी दिनुभयो ।

यस क्षेत्र पृथ्वी राजमार्गको मुख्य नजिक भएतापनि बत्ती मुनिको अँध्यारो जस्तो बन्न पुगेको उहाँको भनाई छ । भौगोलिक रूपमा बिकट भएकाले पनि बाटो बिग्रिएर जोखिमपूर्ण यात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू बाध्य भएका थिए । बिग्रिएको बाटोलाई सुधार गर्न सङ्घीय कार्यान्वयन इकाई कास्की  पोखराको लगानीमा ढलान गरिएको हो । 

झन्डै एक करोड ७० लाख रुपैयाँको बजेटमा २०८० साल पुस २८ गते सङ्घीय कार्यान्वयन इकाई कास्की र माधव भैरवी निर्माण कम्पनी बिच ठेक्का सम्झौता भएको थियो । त्यस लगत्तै निर्माण कम्पनीले ढलान बाटो निर्माण कार्य तीव्र रूपमा काम सुरु गरेको साइड इन्जिनियर पङ्गेनीको भनाई छ । 

समुन्द्र सतहबाट चुर्लिङ हुँदै भैरवी डाँडा सम्म झन्डै ३४ सय मिटर उचाइ रहेकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूलाई ढलान बाटोले निकै सहज हुने वडा अध्यक्ष रेग्मीले विश्वास व्यक्त गर्नुभयो । यस बाटो ढलानले गण्डकी गाउँपालिकालाई राम्रो आम्दानी हुने पनि विश्वास गरिएको छ । 

डेढ किलोमिटर ५.५ मिटर फराकिलो ढलान बाटो सँगै नालीको काम पनि अघि बढिरहेको सङ्घीय कार्यान्वयन इकाई कास्कीका साइड इन्जिनियर पुरुषोत्तम पङ्गेनीले जानकारीले दिनुभयो । उहाँका अनुसार यस ठेक्का सम्पन्न गर्नु पर्ने म्याद २०८१ असार मसान्त सम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । तोकिएको समय सीमा भन्दा पनि पहिले नै निर्माण कम्पनीले काम सम्पन्न हुने गरी काम अघि बढाएको साइड इन्जिनियर पङ्गेनीको भनाई छ ।