• १७ वैशाख २०८१, सोमबार

टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज

blog

टेलिमेडिसिन सेवाबाट बिरामीको उपचार हुँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २ गते ।
सिमकोट गाउँपालिका– ७ को स्याँडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज भएको छ । विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बिहीबारबाट यो सेवा सुचारु गरेको हो ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बिरामीलाई काठमाडौंमा रहँदै आउनुभएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताउनुभयो । यसका लागि आधार विकास नेपालले चिकित्सकबाट परामर्श दिने व्यवस्थाका लागि आर्थिक सहयोग गरेको छ ।

सेवा सुरु भएको दिन काठमाडौंबाट डा. घनश्याम शाहले सेवा दिनुभएको थियो । सेवा सुरु भएपछि विभिन्न रोगका ११ जना बिरामीले उपचार पाएका छन् । स्वास्थ्य चौकीमा आएका बिरामीहरुलाई सिधै चिकित्ससँग सम्पर्क गर्ने र बिरामीले आफूलाई के भएको हो त्यसबारे जानकारी दिने काठामाडौंबाट चिकित्सकले रोग, उपचार विधि र औषधी बारेमा बताउँदै अएका थिए ।

यद्यपी यो सेवा अब स्वास्थ्य चौकीमा महिनाको दुई पटक प्रदान गरिनेछ । स्वास्थ्य चौकीमा आउने बिरामीको रोगको अवस्था हेरी अन्य विशेषज्ञ चिकित्सकको व्यवस्था आधार विकासले गर्नेछ । आधार विकास नेपालका शिक्षा अधिकृत कन्जोक लामाले बिरामीको रोगबारे जानकारी र समाधानको उपाय मात्र नभएर बिरामीलाई औषधीको व्यवस्था गरिने बताउनुभयो ।

बिरामीको आर्थिक अवस्था, रोगको प्रकृति, जटिल खाले रोगका बिरामीहरुलाई उपचारका साथै औषधीमा समेत सहयोग गरिने उहाँले बताउनुभयो । आधार विकास नेपालले बिशेष गरि महिला तथा बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ । यसैगरी स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने बिरामीहरुका लागि आकस्मिक कोषबाट नगद सहयोग गरेर जिल्ला अस्पताल वा जिल्ला बाहिर उपचार गर्नका लागि पनि सहयोग गरिनेछ ।

यसरी टेलिमेडिसिनबाट उपचार गर्ने बिरामीलाई औषधीको व्यवस्था समेत आधारले गर्ने भए पनि बिरामीलाई निक्कै सहज भएको छ । यसअघि सिमकोट गाउँपालिका– ७ का धारापोरी आधारभूत स्वास्थ्य चौकीमा पनि यो सेवा सुरु गरिएको थियो । उक्त स्वास्थ्य चौकीमा ल्याबसहित स्वास्थ्यकर्मीको समेत व्यवस्था आधारले गरेको छ ।