• १८ वैशाख २०८१, मङ्गलबार

अग्लो स्थानमा पर्यटन महोत्सव हुँदै

blog

पर्यटकीय महोत्सव हुने स्थान ।

सुजल श्रेष्ठ

प्यूठान, चैत १ गते । आगामी नयाँ वर्ष २०८१ मा प्युठानको पर्यटकीयस्थल मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।

गत वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गाको सिरमा रहेको पर्यटकीयस्थल मल्लरानीमा नयाँ वर्षमा खाना महोत्सव सञ्चालन गर्न लागिएको छ । मल्लरानी बजार इलाकाले महोत्सव सञ्चालन गर्ने निर्णय गरिसकेको अध्यक्ष वासुप्रसाद श्रेष्ठले बताउनुभयो । अघिल्लो वर्षभन्दा थप व्यवस्थित गरेर महोत्सव सञ्चालन गरिने उहाँको भनाइ छ ।

मल्लरानीमा पछिल्लो समय जिपलाइनसहित विभिन्न पर्यटकीय संरचना निर्माण भएकाले अघिल्लो वर्षभन्दा धेरै पर्यटक महोत्सव अवलोकन गर्न पुग्ने अपेक्षा समेत गरिएको छ । त्यसैगरी नौबहिनी गाउँपालिका –१ स्याउलिवाङमा तेस्रो नौबहिनी–कोठिभिर कृषि, पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । 

जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको स्याउलिवाङमा चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म महोत्सव सञ्चालन हुने कोठिभिर विकास केन्द्र नेपालका अध्यक्ष पूर्ण बुढामगरले बताउनुभयो ।

महोत्सवले जिल्लाकै अग्लो स्थान कोठिभिर (३६५९ मिटर) को पर्यटन प्रवर्धनसँगै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । आयोजकले मेलाको तयारीको काम समेत अघि बढाएको छ ।