• १३ साउन २०८१, आइतबार

इन्जिनियरसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, चैत १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुको सोरु गाउँपालिका–९ साबिक कालै गाउँपालिका २, ३ र ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसिसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा उपलब्ध गराइएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिहीबार जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

सिँचाइ कुलो निर्माणमा प्रमुख पाण्डेले भुक्तानी गरेको रकमबाट सिड्डीखोला सिँचाइ आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणको १४ लाख १७ हजार ९३५ रुपियाँ बराबरको कार्य सम्पन्न नगरी गैरकानुनी हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । पाण्डेलाई सो रकम बिगो कायम गरी कैद र जरिवाना हुन एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।

यसैगरी, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेश सिंह कठायतविरुद्ध १२ लाख ३६ हजार ९०१ रुपियाँ भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।

कठायतले नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार प्रथम, द्वितीय र तृतीय बिलबाट आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा जम्मा १२ लाख ३६ हजार ९०१ रुपियाँ बराबरको नभएको कामलाई पनि भएको भुट्टा बिल भरपाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । अयोगका प्रवक्ता घिमिरेले कठायतलाई सो रकम बिगो कायम गरी कैद र जरिवाना हुन एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको जानकारी दिनुभयो ।

त्यस्तै, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका सबइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रोकायाले प्रथम रनिङ्ग बिलअनुसार फिल्डमा आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा एक लाख ९१ हजार २०६ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । रोकियालाई भ्रष्टाचार ऐन बमोजिम सो रकम बिगो कायम गरी कैद र जरिवाना एवम् बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।

प्रवक्ता घिमिरेका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका असिस्टेन्ट सवइन्जिनियर सर्जन शाहीविरुद्ध १० लाख ४५ हजार ६९४ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

शाहीले तयार गरेको  द्वितीय र तृतीय बिल अनुसार फिल्डमा आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा १० लाख ४५ हजार ६९४ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । शाहीलाई सो रकम बराबरको बिगो कायम गरी कैद र जरिवाना एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।

साथै सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिका अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीले १४ लाख १७ हजार ९३५ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ । उहाँहरूले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुले गरेको सम्झौता र सो अनुसारको इस्टिमेट बमोजिमको काम नगरी स्थलगत नापजाँच र प्राविधिक प्रतिवेदन अनुसार मूल्याङ्कन हुँदा यथार्थ कार्य मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप छ ।

दिपादेवी, पूर्ण र फुल्टउरालाई १४ लाख १७ हजार ९३५ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ बमोजिम कैद र जरिवानाको सजाय गरी बिगोसमेत असुलउपर हुन मागदाबी दिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।