• १३ साउन २०८१, आइतबार

पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन : गृहमन्त्री लामिछाने

blog

मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ।

काठमाडौं, फागुन २९ गते। गृहमन्त्री रवि लामिछानेले पुरातन शैलीमा काम गर्ने छुट नभएको बताउनुभएको छ। मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

‘‘पद सुरक्षित हुँदाहुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण ‘डेलिभरी’ दिनका लागि हो। सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन।’’ 

उपप्रधानमन्त्रीसमेत रहनुभएका लामिछानेले आफू विशेष टिओआर लिएको आएको समेत बनाउनुभयो। नागरिकले तत्काल महसुस हुने गरेर सुधारका काम गर्नुपर्नेमा उहाँको जोड छ। 

‘‘म पनि विशेष टिओआर लिएर आएको छु। यहाँसँग त परिभाषित जिम्मेवारी छँदै छ। त्यसैले, आपसी सहकार्यमा नागरिकले तत्काल महसुस हुने गरेर सुधारका काम गरौँ’’, गृहमन्त्री लामिछानेले भन्नुभयो। 

उहाँले गृह मन्त्रालयसँग श्रोत–साधनको अभाव भएको, प्रहरीका दुवै सङ्गठनसँग आधारभूत वस्तुको खाँचो रहेको भन्दै त्यसतर्फ ध्यान दिने उल्लेख गर्नुभएको छ। उहाँले सवारी साधन, हातहतियार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले आगामी बजेटको सिलिङ बढाउने भन्दा त्यसलाई रिभ्यू गर्नुपर्नेमा जोड दिनुभएको छ। ‘‘नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गरौँ। बजेटको सिलिङ बढाउन होइन ‘रिभ्यू’ गर्न लागौँ।’’

बैठकपछि मन्त्री लामिछानेले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बिदाइ गर्नुभयो। सचिव भट्टराईको हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो।