• १३ साउन २०८१, आइतबार

‘अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ’

blog

निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : रासस

पाटन (ललितपुर), फागुन २९ गते । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ । मङ्गलबार कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले अर्थतन्त्रका सूचकहरू नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको पनि प्रष्ट पार्नुभयो ।

“मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो, मेहनतका साथ लयमा ल्याएका थियौँ । नेपाल राष्ट्र बैङ्क, एसियाली विकास बैङ्क (एडिबी) र विश्व बैङ्कलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ”, उहाँले भन्नुभयो, “अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ ।”

डा. महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैङ्कको ब्याजदर घट्दै गएको बताउनुभयो । “कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैङ्कको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ ।” उहाँले गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन १० प्रतिशतले बढ्नु सन्तोषजनक रहेको पनि बताउनुभएको थियो ।

डा. महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको उल्लेख गर्नुहुँदै राजस्व मुलुक र जनताको प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने मान्यता स्थापित गरेको बताउनुभयो । उहाँले सरकारमा रहँदा सुशासन र मितव्ययितालाई ध्यानमा राख्दै काम गरेको उल्लेख गर्नुभयो ।

उहाँले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा धेरै लगानीकर्ता लगानी गर्न तयार रहेको बताउँदै उक्त सम्मेलनमार्फत धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने गरी आफूले काम गरेको दाबी गर्नुभयो । पुँजीगत खर्चको प्रभावकारिता बढाउन, बजेट प्रणालीमा सुधार ल्याउन, रु तीन करोडभन्दा कम बजेटका आयोजना प्रदेश र स्थानीय तहले नै गर्न दिने गरी काम गरिरहेका थियौँ भन्दै डा महतले वैदेशिक लगानी भित्र्याउन कानुन परिमार्जनको काम अगाडि बढाएको उल्लेख गर्नुभयो ।

अर्को एक फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेस तत्कालीन सत्तागठबन्धनकै पक्षमा रहेको र कांग्रेसको महासमिति बैठकले पनि सोही गठबन्धनलाई निरन्तरता दिने नै निर्णय गरेको प्रतिक्रिया दिनुभयो । रासस