• १३ साउन २०८१, आइतबार

पुस्तान्तरणले कांग्रेसलाई बलियो बनाउँछ

blog

केशवचन्द्र महरा

दिपायल, फागुन २९ गते । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले कांग्रेसलाई बलियो र मजबुत मनाउन पुस्तान्तरण सहितको रूपान्तरण आवश्यक रहेको बताउनुभयो । नेपाल शिक्षक सङ्घ डोटीको २४औँ प्रतिनिधि सभामा बोल्दै उहाँले पद, पावर, अवसर र नेतृत्व पुस्तान्तरण भए मात्रै कांग्रेसलाई मजबुत बनाउन सकिने बताउनुभएको हो।

पार्टीमा पुस्तान्तरण सहितको रूपान्तरण हुन नसकेका कारण युवाहरूको मनोबल कमजोर हुँदै गएको उहाँको भनाइ छ । "कांग्रेसमा लामो समयदेखि सीमित नेताहरूले पद, पावर, अवसर र नेतृत्व लिँदै आउनुभएको छ । जसको असर वडा देखि केन्द्र सम्म परेको देखिन्छ । अबको नेपाली राजनीतिले नयाँ पुस्ताको, युवाहरूको मुख ताखिरहेको छ," उहाँले भन्नु भयो, "जनताले टेष्टेड नेता भन्दा नयाँ अनुहारको खोजी गरिरहेका छन् । पार्टीलाई साँच्चिकै बलियो बनाउने हो भने अग्रजहरूले नयाँ पुस्तालाई नेतृत्व र अवसर प्रदान गर्न सक्नुपर्दछ । यसो भयो भने युवाहरूको मनोबल पनि बढ्छ ।"

नेता विष्टले कांग्रेस आफैँमा बलियो भएको कतिपय क्षेत्रमा हार व्यहोर्नुपरेको बताउँदै कांग्रेसले कांग्रेसलाई मात्रै मतदान गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताउनुभयो । "डोटीको हकमा कांग्रेस आफैँमा बलियो छ । एक्लै चुनावमा जाँदा पनि कांग्रेसले सुनिश्चित जीत हासिल गर्न सक्छ । मात्र कांग्रेसले कांग्रेसलाई भोट हाल्नु पर्‍यो," उहाँले भन्नुभयो, "स्थानीय तहको निर्वाचनमा लगभग सबै पालिकामा जीत हासिल गरेको कांग्रेसले प्रदेश र केन्द्रको निर्वाचनमा झिनो मतदाता सङ्ख्या भएका गठबन्धनका उम्मेदवारलाई जिताउन सक्यो तर, आफ्नै सभापतिलाई जिताउन सकेन । यसको गम्भीर समीक्षा हुनुपर्छ र त्यसको समाधानको बाटो खोज्नु पर्छ ।"

योसँगै नेता विष्टले नेपालको शैक्षिक गुणस्तर माथि उकास्न शिक्षककै महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । "विद्यार्थी र शिक्षक बिचको सम्बन्ध साथीजस्तै हुनु पर्दछ । अन्य देशहरूमा विद्यार्थी र शिक्षक एक अर्काको नाम बोलाएर सम्बोधन गर्छन् । एउटै लेबलको दर्जा ठान्छन् र विद्यार्थी शिक्षक बिचको सम्बन्ध सुमधुर हुन्छ । शिक्षक र विद्यार्थीहरूको सम्बन्ध सुमधुर भयो, साथीत्व भयो भने विद्यार्थीहरूले खुलेर, मन लगाएर पढ्न सक्छन् । हाम्रो देशमा विद्यार्थी र शिक्षकको दूरी र सम्बन्ध निकै टाढाको छ । यसलाई सुधार गरौँ ।"