• १३ असोज २०८१, आइतबार

'भेषजबिन्दु साहित्यिक पुरस्कार' बाट डा. ढकाल र 'साहित्य सम्मान’ बाट सापकाेटा सम्मानित

blog

वालिङमा आयोजित विशेष कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण गरिँदै ।

राधाकृष्ण डुम्रे

वालिङ, फागुन २९ गते । भेषजराज साहित्य प्रतिष्ठानले यस वर्षकोे ‘भेषजबिन्दु साहित्यिक पुरस्कार’ साहित्यकार डा. रजनी काफ्ले ढकाललाई र ‘भेषजराज साहित्य सम्मान’ शान्ति सापकाेटालाई प्रदान गरेको छ । 

प्रतिष्ठानको नियमित रचना वाचनको ७० औं शृङ्खला अन्तर्गत वालिङमा आयोजित कार्यक्रममा काफ्ले र सापकाेटालाई सम्मान तथा पुरस्कृत गरेको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख डा.कृष्णराज अधिकारी, वालिङ ११ का वडा अध्यक्ष दण्डपाणि पङ्गेनी र साहित्यकार देवीप्रसाद वनवासीले संयुक्तरुपमा सम्मान एवम् पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतिष्ठानले काफ्ले र सापकाेटालाई जनही दशहजार र प्रमाणपत्रले सम्मान गरेको हो । प्रतिष्ठानले २०७४ सालदेखि प्रत्येक वर्ष साहित्यिक पुरस्कार प्रदान गर्दै आएको छ । 

सम्मानित हुनुहुने डाक्टर डा. रजनी काफ्ले (ढकाल) लामो समय देखि नेपाली साहित्यको क्षेत्रमा काम गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङमा जन्मिनुभएकी काफ्ले त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा सहप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । 

काफ्लेका अनुसन्धात्मक तथा समालोचनात्मक कृतिहरु,सिर्जनात्मक कृतिहरु र लघु अनुसन्धान गरी दजनौं पुस्तक प्रकाशित छन् । विभिन्न पाठ्यपुस्तकमा उहाँका सिर्जनाहरु समावेश भएका छन् । यस्तै शान्ति सापकोटा लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।  २०२८ सालमा वालिङ नगरपालिका–१२ धनमुडामा जन्मनुभएकी सापकाेटा ललितपुरमा बस्दै आउनुभएको छ । 

सापकाेटाले आख्यान र काव्य विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका झण्डै दुई दर्जन कृति प्रकाशित भएका छन् । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. अच्युतशरण अर्याल र सचिव श्यामप्रसाद ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

सो अवसरमा भेषजबिन्दु साहित्यिक अक्षयकोषमा थप गर्नका लागि स्थानीय दिनेश अर्यालले व्यक्तिगत रुपमा रु. ५१ हजार १ सय ५१ प्रदान गर्नुभएको छ ।  

‘संस्कृति, भाषा र साहित्यको संवर्धन, भेषजराज साहित्य प्रतिष्ठानको अभियान’ भन्ने मूल नारासहित स्रष्टा सम्मान, पुरस्कार समर्पण, कृति चर्चा परिचर्चा, भेषजराज शर्माका काव्य कृतिमा दर्शन विषयक कार्यपत्र प्रस्तुति एवम् नियमित रचनावाचनको ७० औं शृङ्खला कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालले जानकारी दिनुभयो।