• ८ मंसिर २०८१, शनिबार

कोशी बाढीपीडित : क्षतिपूर्तिको आसमा बगरको तिरो तिर्दै

blog

सप्तकोशी नदीले बगाएको जग्गा नक्सामा देखाउँदै कोशीपीडित । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र (सुनसरी), फागुन २९ गते । लालपुर्जा साथमै छ, जग्गा सप्तकोशीको पानीमुनि । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि बगाएको छ । सबैभन्दा ठुलो क्षेत्रमा फैलिएर बग्ने सप्तकोशीमा आएको बाढीको डुबान र कटानमा परेर चार हजारभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । पाँच दशकदेखि विस्थापित कोशीपीडितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् । 

वराहक्षेत्र मन्दिरदेखि १० किलोमिटर दक्षिण चतराबाट समथर भूभागमा फैलिएको सप्तकोशी नदीले तराईको फाँटमा आइपुगेपछि थुप्रै मानव बस्तीमा उठिबास भएको छ । २०२२ सालयता हजारौँ परिवार कोशीको डुबान र कटानमा परी विस्थापित बनेका छन् । 

कोशी किनारको चतराका ६५ वर्षीय प्रह्लाद थापाले कोशीले बगाएको जग्गाको मुआब्जा पाउने आशामा बर्सेनि बगेको जग्गाको कर राज्यलाई तिरिरहनुभएको छ । उहाँको २५ बिघा जग्गा २०२२ सालमै बगेको हो । उहाँ जस्तै चार हजारभन्दा बढी घरधुरी आफ्नो थातथलो र बगेको जग्गाको मुआब्जा पाउने आशामा अहिले पनि सङ्घर्ष गरिरहेका छन् । 

वराहक्षेत्र नगरपालिका–१० का दुर्गा पौडेलले तीन छोरा र तीन छोरीलाई १०, १० कट्ठा पर्ने गरी अंशबन्डा गरिदिनुभयो । उहाँका कान्छा छोरा वेदनिधि पौडेलले भन्नुभयो, “हातमा लालपुर्जा प¥यो तर जग्गाबाट न उब्जनी लिन सकिन्छ न त कुनै काम आउँछ । पाएको धनीपुर्जा बैङ्कले पनि नपत्याउने र धितो राखेर ऋण पनि निकाल्न नमिल्ने भएपछि हर्ष न विस्मत् ! राज्यले मुआब्जा दिने आसमा पानीमुनिको मालपोत तिरिरहेका छौँ ।” पुख्र्यौली सम्पत्तिका रूपमा रहेको जग्गा कोशीले कटान गरेर नदीमै मिसिए पनि छोरा र नातिमा स्वामित्व सर्दै आएको छ । 

कोशी कटानका कारण सुनसरीका वराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, पश्चिम कुसाहा, श्रीपुर जब्दी र हरिपुरका सयौँ घरपरिवार पीडित बनेका छन् । पीडितले कमाइखाने जमिन, बाली, घर र चौपायाको क्षति भयो ।

कोशीपीडित सङ्घर्ष समितिका अध्यक्ष लालबहादुर लिम्बू (जोनी) ले नदीको डुबान र कटानमा परी २०२२ देखि २०४६ सम्म पीडितको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकार हनन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोशी योजना अन्तर्गत कोशी ब्यारेज र पूर्वपश्चिम तटबन्ध निर्माणको काम सुरु हुनुअघि नदी उकासका रूपमा रहेको कोशीटप्पुमा सघन मानव बस्ती थियो । कोशी ब्यारेज बनेको एक दशक नबित्दै तत्कालीन बस्ती डुबान र कटानमा परेर स्थानीयवासी विस्थापित भए ।” 

कोशीको डुबान र कटानमा परेका साबिकका वराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन गाविसका पीडितको चार हजार ७४ बिघा जमिन र यसमा आश्रित रहेका हजारौँ घरपरिवार आफ्नो क्षतिपूर्तिसहितको मुआब्जा पाउनुपर्ने माग राखेर पाँच दशकदेखि आन्दोलनरत छन् ।

बगर बन्यो बस्ती 

२०२२ जेठ २८ गते बुधबार सिँधुरे टप्पुको बाँध फुटाएर कोशी नदी बस्तीमा प्रवेश ग¥यो । अचानक उर्लेर गाउँ पसेको कोशीले सबै मानव बस्ती र खेतलाई नदी र बगरमा परिणत गरिदियो । सङ्घर्ष समितिका अगुवा प्रह्लाद थापाले बस्तीबाट जसोतसो ज्यान जोगाउँदै स्थानीय चव्रmघट्टी आएर रुखको फेदमा आश्रय लिई कष्टकर जीवन बिताउन बाध्य भएको बताउनुभयो ।

स्थानीय अगुवाका अनुसार २०२५ सालमा आएको बाढीले टप्पुबासीले ठुलो क्षतिको सामना गर्नु प¥यो । २०३५ असोज १७ गते कोशीको बहाव फेरि गाउँतिर पस्यो । बस्तीलाई बाटो बनाएर नदी बग्न थाल्यो । बाढीपीडित सङ्घर्ष समितिको अग्रपङ्क्तिमा रहेका टापुबासी विगतको थातथलो सम्झेर अझै पनि आँसु झार्छन् । कोशीमा २०३७ मा आएको बाढीले पुल्ठेगौँडा, सिँधुरे टप्पुको तामाङ गाउँ, मोहरिया, गरैया, सुन्दरगुन्दर, जब्दी, बालचन खोरिया, लालकोट, रङमललगायत बस्ती बगायो । त्यस्तै २०३९ मा महेन्द्रनगरको ५ र ६ नम्बर वडामा बाढी पस्यो । ५६ का सङ्घर्ष समितिका सदस्य युवराज भट्टराई (विदुर) ले २०४१ र २०४३ मा बाढीले टप्पु क्षेत्र तहसनहस बनाएको स्मरण गर्नुभयो । 

विस्थापित चतरा (वराहक्षेत्र) र महेन्द्रनगरका कोशीपीडित हालको बाङ्गेस्थित वन क्षेत्रमा आएर बसोबास गर्न थाले । प्रकाशपुर–४ र ५ मा पनि कोशीपीडितको ठुलै बस्ती छ । विभिन्न समयमा कोशी काटन विस्थापित स्थानीयले तटबन्धको डिल र छेउछाउ आश्रय लिएका छन् । 

साबिक प्रकाशपुर गाविसको ४ र ५ महेन्द्रनगरको ३, ५, ६ र ९ वराहक्षेत्रको वडा नं. १, २, ३, ४ र ६ मा सप्तकोशी नदीको डुबान तथा कटानपीडितको सघन बस्ती छ । पीडित तीन हजार नौ सयभन्दा बढी घरपरिवारका सदस्य चार हजार बिघाभन्दा बढी जग्गाको क्षतिपूर्तिसहित मुआब्जा पाउनुपर्ने माग राखेर सप्तकोशी डुबान कटान सङ्घर्ष समिति गठन गरी पाँच दशकदेखि आन्दोलनरत छन् ।

आयोग बन्यो, जग्गा पाएनौँ

प्रकाशपुरका पदमबहादुर कार्कीले २०३५ मा तत्कालीन मन्त्री मरिचमान सिंहले नापी गरी लालपुर्जा दिएको बताउनुभयो । जग्गा नापी हुँदा वितरण गरिएको लालपुर्जा अझै पनि पीडितसँगै छ । हालसम्म पनि पीडितले ती जग्गाको रैकर (मालपोत) तिरो बुझाउँदै आएका छन् । 

अहिलेसम्म वैकुण्ठ चन्द आयोग, रामप्रसाद खतिवडा बसोबास समिति, कुमार पौडेल आयोग बनाए पनि पीडितको पक्षले जग्गा पाएका छैनन् । स्थानीय लालबहादुर लिम्बूले सरकारसँग जग्गा प्राप्तिका लागि पहल गरिदिन आग्रह गर्नुभयो । 

नदीमा पानीसँगै आउने माटो, बालुवा र गेग्य्रान थेग्रिएर बस्नाले बर्सेनि सतह उच्च हुँदै जाँदा डुबान र कटान हुने गरेको छ । यसैकारण कोशीमा बाढी आउने र नदीको बाटो फेरिने गरेको छ । 

२०२२ सालयता कोशीमा बाढी आउनु र बस्ती विस्थापित हुनुमा कोशी ब्यारेज मुख्य कारण बन्दै आएको छ । नेपालले भारतसँग कोशी सम्झौता गरेपछि २०११ सालमा बनेको कोशी ब्यारेजकै कारण उत्तर, पूर्व र पश्चिम किनारमा रहेका सुनसरी, सप्तरी र उदयपुरवासी विस्थापित भएका हुन् ।

विसं २०११ वैशाख १५ गते दुवै देशबिच कोशी योजनासम्बन्धी सम्झौता भए अनुसार १९९ वर्षका लागि नेपालले कोशी योजनास्थलको हस्तान्तरण र पानी सदुपयोगको अधिकार भारतलाई सुम्पेको थियो । कार्यकारी अधिकार भारतीय पक्षलाई हुँदा भारतलाई अनुकूल हुँदा ब्यारेजको ढोका खोल्ने, बन्द गर्ने गरेको छ । त्यसैले पानी सहज रूपमा बग्न नपाउँदा बालुवा जमेर सानो बाढी आउँदा पनि पानीको सतह माथि उठ्ने गरेको छ ।

कोशीपीडित युवराज भट्टराईले योजनाकै कारण पानीको सतह बढ्दा नेपालीले बाढीको प्रकोप भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ब्यारेजमा सीमित ढोका मात्रै खोलिँदा कोशीको सतह उठ्छ र डुबान र कटान हुन्छ ।” 

सप्तकोशी नदी क्षेत्रमा प्रत्येक वर्ष नदीले बालुवाका टापु बनाउनु र बालुवाको बाहिरी निकास नहुनु नै सतह वृद्धिको मुख्य कारण बन्छ । नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानी हुनेबित्तिकै बस्ती जोखिममा पर्ने गरेको छ । 

नदीमा थेग्य्रान बढी भएकै कारण पानीको बहाव एक लाख ६७ हजार क्युसेक हुँदै २०६५ भदौ २ गते सुनसरीको साबिक पश्चिम कुशाह–४ बाट स्पर नम्बर १२ः१० र १२ः९० कटान गर्दै नदी गाउँ छिरेको थियो । पीडित कृष्ण खड्काले त्यतिबेलैदेखि क्षतिपूर्ति र मुआब्जा नपाउँदा आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा पछि पर्नु परेको बताउनुभयो ।