• २३ वैशाख २०८१, आइतबार

सन्न्यासी, ढोँगी र वैज्ञानिक

blog

सन्न्यासी दुई प्रकारका हुन्छन् । समाजमा बस्ने र वनमा बस्ने । गुरुले वन पठाए वन बस्नु पर्छ । समाजमा पठाए समाजमा बस्नु पर्छ । वास्तविक सन्न्यासी बन्न धेरै त्याग र तपस्या गर्नु पर्दछ । त्यागबिनाको सन्न्यासीलाई ढोँगी भनिन्छ । कोही व्यक्ति सन्न्यासी बन्न चाहन्छ भने सर्वप्रथम गुरुको सेवक बन्नु पर्दछ । यसमा उमेरको हदबन्दी हुँदैन । व्रतबन्ध तथा उपनयन गरेपछि गुरुकहाँ जान सकिन्छ । उमेर आठ वर्ष पुगेपछि शास्त्रीय ज्ञानको सुरुवात गर्न मानिस योग्य हुन्छ । अहिले जस्तो अढाइ वर्षमा स्कुल हाल्नु उचित मानिँदैन ।

३०/४० वर्ष उमेरको मानिस पनि सन्न्यासी बन्न गुरुको शरणमा जान सक्छन् । चार वर्षमा स्नातक कोर्स सकिए जस्तो सन्न्यासीको कोर्स सकिँदैन । विद्यार्थीको मन मस्तिष्क रूपान्तरण हुनु पर्दछ । कसैको चार वर्षमा हुन्छ भने कसैको ४० वर्ष लाग्न सक्छ । गुरुले निश्चित मात्राको ज्ञान दिन्छन् । साथै श्रम पनि  लगाउँछन् । विद्यार्थी हरेक परीक्षामा उत्तीर्ण हुनु पर्छ । ज्ञानले निपुण र चरित्रले पूर्ण भएपछि मात्र सन्न्यासी बन्न सक्छ । गुरुले सन्न्यासी घोषणा गरेको व्यक्ति पछि कुकर्ममा नजाने कुराको सुनिश्चितता हुनु पर्छ ।

ज्ञानको दुरुपयोग गर्ने ढोँगी

थोरै आध्यात्मिक शाब्दिक ज्ञान हासिल गरेका तर मन र मस्तिष्क रूपान्तरण नभएका धेरै मानिस हुन्छन् । त्यो ज्ञान अरूको शोषण र आफ्नो लाभका लागि प्रयोग गर्ने व्यक्तिलाई ढोँगी भनिन्छ । सोझासिधा मानिस ढोँगीलाई ज्ञानी ठानेर फस्छन् ।

को ढोँगी हो, को वास्तविक सन्न्यासी हो भनेर छुट्याउन कठिन हुन्छ । साधक गुरुले मात्र यसको सही पहिचान गर्न सक्छन् । कहिलेकाहीँ ढोँगीले गरेका बदमासीका आधारमा सन्न्यासी भनेका खराब व्यक्ति हुन् भन्ने निष्कर्ष पनि निस्कन सक्छ ।

सामाजिक सन्न्यासीको भूमिका

गुरुले समाजमा पठाएका सन्न्यासीको भूमिका समाजमा सत्विचार र वैदिक ज्ञान वितरण गर्ने हो । समाजमा बस्ने सन्न्यासीले प्रवचन दिने, शिक्षालय खोल्ने, आश्रम खोल्ने, धार्मिक स्थलको संरक्षण संवर्धन गर्ने गराउने गर्दछन् ।

सन्न्यासीको भूमिका निकै संवेदनशील हुन्छ । समाजलाई केही दिनका लागि समय परिस्थिति अनुसार सन्न्यासीले आफूलाई विभिन्न रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । किनकि व्यक्तिलाई कन्भिन्स गराउन अर्थात् आफ्नो कुरा सुन्ने गराउन केही रणनीति आवश्यक पर्दछ । धर्म र सन्न्यासीको नाममा धनदौलत जम्मा गर्छ, मानिसको शोषण गर्छ, वन जङ्गल कब्जा गर्छ, राजनीति गर्छ । आदि प्रकारका आरोप लाग्ने गरेकोे पाइन्छ । सामाजिक सन्न्यासी र ढोँगी छुट्याउन गाह्रो पर्दछ । ढोँगीले समाजमा ठगी गर्न वास्तविक सन्न्यासीको रूप देखाउन सक्छ । सन्न्यासीले समाजलाई सत्ज्ञान दिन कहिलेकाहीँ आधुनिक विज्ञको जस्तो रूप देखाउन सक्छ । सामान्य पेसा, व्यवसाय गरेर आधुनिक भवनमा बसोबास गरेर पनि सन्न्यासी कायम रहन सकिन्छ भन्ने धारणा आजभोलि सुनिन्छ । युग अनुसार चल्नुलाई विचलन भनिँदैन, सन्न्यासी हुन गेरु वस्त्र र खरानी घस्नै पर्दछ भन्ने छैन । यस्ता तर्क सुनिन्छ ।

पेसा, व्यवसायमा संलग्न मानिस सन्न्यासी वा ढोँगी हो भन्ने कुनै कानुन वा मापदण्डले छुट्याउन सकिने कुरा होइन । यहाँसम्म आउने सन्न्यासी ढोँगीमा परिणत भइसक्ने सम्भावना भने अधिक हुन्छ । तथापि यसको मापन नैतिकताको आधारमा मात्र गर्न सकिन्छ ।

वन सन्न्यासीको भूमिका

गुरुले कुनै सन्न्यासीलाई वन, कुटी, गुफामा बस्न योग्य भनी घोषणा गर्दछन् । त्यस्ता सन्न्यासीले भने सबै नियम सहजै पालना गर्न सक्छन् । उनीहरूलाई समाजले विचलित पार्न सक्दैन । गुप्त सन्न्यासीहरूले ब्रह्म ज्ञान खोज्छन् । उनीहरू आफ्ना लागि रमाउँछन् । उनीहरूको ज्ञान समाजलाई केही काम लाग्दैन । सामाजिक सन्न्यासीभन्दा उनीहरूमा ज्ञान धेरै हुन्छ । उनीहरूको भोजनको मुख्य स्रोत आकाश हुन्छ ।

वन सन्न्यासीलाई कुनै पत्रकारले भेट्दैन । उसको अन्तर्वार्ता आउँदैन । प्रवचन आउँदैन । उनीहरूको सम्पर्क वन्यजन्तु, चराचुरुङी, वनस्पति र आकाशसँग मात्र हुन्छ । समाजमा धर्मयुद्ध हुन्छ । अन्य युद्ध विनाश पनि हुन्छ । पन्थ, सम्प्रदाय, राजनीतिक आदि कारणले एकले अर्काको ज्ञानको भण्डार ग्रन्थालयदेखि सभ्यतासम्म नष्ट गरिदिन सक्छन् । ज्ञान मर्न सक्छ ।

सामाजिक सन्न्यासीहरूले जति नै सन्न्यासीका रूपमा रहन्छु भन्दा पनि केही विचलन आउन सक्छ । समाजलाई बुझ्ने भाषामा ज्ञान बाँड्छु भन्दा बुझ्नेसम्म पुग्दा गलत अर्थ लाग्ने हुन्छ । समाजले ज्ञानलाई जस्ताको तस्तै पुस्तान्तरण गर्न सक्दैन । 

तìव ज्ञान वा ब्रह्म ज्ञान सनातन हुन्छ । अनादि कालदेखि परिवर्तन हुँदैन । आफू अनुकूल व्याख्या गर्ने त कुरै हुँदैन । देश, काल, परिस्थिति अनुसार फरक पनि हुँदैन । यो ज्ञान ऋषि, सन्न्यासी कसैले सिर्जना गर्ने होइन । देख्ने मात्र हो । 

समाजमा जेसुकै उथलपुथल भए पनि वन सन्न्यासीसँग रहेको ज्ञानमा कुनै असर पर्दैन । वन सन्न्यासीका गुप्त शिष्य हुन सक्छन् तर यस्तो सङ्ख्या निकै कम हुन्छ । ती शिष्य पछि कसैका गुरु पनि हुन सक्छन् । ती गुरुबाट दीक्षित विद्यार्थी सामाजिक सन्न्यासी पनि हुन सक्छन् ।सनातन ज्ञान समाजमा छरिरहन वन सन्न्यासीको प्रत्यक्ष केही भूमिका हुँदैन तर समाजमा पुग्ने ज्ञानको स्रोत तिनै सन्न्यासी हुन् । उनीहरूले जस्तो परिस्थितिमा पनि ज्ञानलाई बचाइराख्छन् । ढिलो चाँडो समाजमा त्यो पुग्न सक्छ ।

ज्ञानका सर्जक वैज्ञानिक

अरूले पत्याउने गरी सप्रमाण ज्ञान दिने व्यक्तिलाई वैज्ञानिक भनिन्छ । प्रमाण भन्नाले समय, स्थान, वस्तु, सङ्ख्या, भनाइ सबैको अभिलेखीकरण हो । वैज्ञानिकलाई ज्ञानको आधिकारिक स्रोत मानिन्छ ।  कुनै पनि तथ्य पत्ता लगाउन यो हो वा होइन भनेर परीक्षण गरिन्छ । वस्तु वा पदार्थको विषय प्रयोगशालामा परीक्षण गरिन्छ । अन्य कुरा समाजमा परीक्षण गरिन्छ । जाँच परीक्षणबाट देखिएको तथ्यलाई ज्ञान मानिन्छ । धेरै वटा रिसर्च गरेका वैज्ञानिकले पछिपछि परीक्षणबिना भनेका कुरालाई पनि प्रमाण मानिन्छ । उनीहरूको अनुभवलाई कुनै पनि कुराको प्रक्षेपण गर्ने पूर्वाधारका रूपमा स्वीकार गरिन्छ । 

सन्न्यासी र वैज्ञानिकको भिन्नता

वैज्ञानिकहरू परिणाम वा आउटपुटबाट अनुसन्धान सुरु गर्छन् । अर्थात् निस्कने भौतिक ढोकाबाट पस्छन् । भित्र यो भेटियो, यो भेटियो भन्दै सार्वजनिक गर्छन् । अघिल्लो पटक भेटिएको सत्यलाई पछिल्लो पटक भेटिएको सत्यले काट्दै जान्छ । 

सन्न्यासी प्रवेश ढोकाबाट पस्छन् । हामीले देख्ने निस्कने ढोका हो । प्रवेश ढोका त देखिँदैन । सन्न्यासी कसरी छिर्छन् ? सबै कुराको सुरुवात शून्यबाट हुन्छ । शून्यलाई कसरी देखिन्छ ? शून्य देख्न आपूmलाई शून्यमै लैजानु पर्छ । ऋषि सन्न्यासीले यही प्रयत्न गर्छन् । सन्न्यासीले रिसर्च गर्न भौतिक रूपले दुरी पार गर्नु पर्दैन । आफू कुन ठाउँमा पुगेर ध्यान तपस्या गर्दा शून्यमा छिटो पुग्न सकिन्छ, त्यो ठाउँ मात्र छनोट गर्नु पर्छ । शून्यको कुनै दुरी हुँदैन, कुनै परिमाण हुँदैन, भूत, वर्तमान, भविष्य केही हुँदैन । एकै ठाउँ र समयबाट सबै देख्न र अनुभूति गर्न सकिन्छ ।

अन्तिम ढोकाबाट प्रवेश गरेर प्रवेश ढोकासम्म पुग्न सकियो भने सबै ज्ञान पत्ता लाग्छ तर यो विधिबाट शून्य ढोकासम्म पुग्ने सम्भावना छैन । त्यसैले वैज्ञानिकले जति नै पत्ता लगाए पनि ज्ञान पूर्ण हुन नसक्ने र पूर्णको नजिक मात्रै पुग्ने देखिन्छ । 

सबैको सम्मान गर्नुपर्ने निष्कर्ष

वैज्ञानिकका प्रमाण परीक्षणका अभिलेख हुन्छन् । तथापि लामो अनुभवपछि व्यक्ति स्वयम् प्रमाण  मानिन्छ । आध्यामिक ज्ञानको सन्दर्भमा व्यक्ति वा शास्त्र नै प्रमाण मानिन्छ । त्योभन्दा बढी प्रमाण चाहिए आफैँ रिसर्चर वा ऋषि बन्नुपर्ने हुन्छ । 

मानिस ज्ञानको खोजी गर्ने गुण भएको प्राणी हो । कसैले रिसर्चको विधि अपनाउँछन् । कसैले एकल ध्यानको । सबैले आत्मसन्तुष्टि वृद्धिका लागि कार्य गर्ने हो । कसैलाई आफ्नो काम प्रचार गर्दा सन्तुष्टि लाग्छ । कसैलाई गुप्त रूपमा ज्ञान आर्जन गर्दा सन्तुष्टि लाग्छ । त्यसैले सबैको सम्मान गर्नु पर्दछ ।