• १३ साउन २०८१, आइतबार

विशेष विद्यालय योजना अलपत्र

blog

राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा रहेका घरटहरा ।

घोडाघोडी समाचारदाता

सुखड (कैलाली), फागुन २६ गते । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जमिन २२ वर्षदेखि भाडामा लगाई व्यापार व्यवसाय तथा स्थानीयले बसोबास गर्दै आएका छन् । व्यापारीले न जग्गाको भाडा तिरेका छन् न त खाली गर्छन् । 

सो विद्यालयको जमिन खाली नहुँदा विशेष विद्यालय योजना अलपत्र परेको छ । सुखड बजार क्षेत्रको आधाभन्दा बढी जमिन विद्यालयको नाममा रहे पनि खाली जग्गा नहुँदा विशेष विद्यालय योजना अलपत्र परेको स्थानीयले बताएका हुन् । विद्यालयको नाममा रहेको दुई बिघा आठ कट्ठा जमिनमा २०५८ सालदेखि व्यापार व्यवसाय गरी भाडा दिने सम्झौता गरेको देखिन्छ तर धेरैले भाडा दिएको देखिँदैन । केहीले विद्यालयको जग्गा आफूखुसी किनबेचसमेत गरेको पाइएको छ । 

विद्यालयको जग्गामा १७० जना व्यापारी तथा बसोबासी छन् । ४० प्रतिशतभन्दा बढीले वर्षौंदेखि भाडा नतिरेको विद्यालय परिवारले जनाएको छ । उक्त जग्गाको एक करोड ३७ लाख ९० हजार ११८ रुपियाँ भाडा उठ्न बाँकी देखिन्छ । एउटै व्यक्तिले छ लाख रुपियाँसम्म भाडा तिर्न बाँकी छ । लामो समय भाडा उठ्न नसक्नुमा विद्यालय प्रशासनको कमजोरी भएको आरोप स्थानीयवासीको छ । स्थानीय खगेन्द्र हमालको अध्यक्षतामा गठित विद्यालय व्यवस्थापन समितिले विद्यालयको सम्पत्ति खोजी सुरु गरेको छ । विद्यालयको सम्पत्ति प्रयोग गरेर पनि सर्त अनुसार भाडा नबुझाएकासँग भाडा उठाउन तथा जमिन खाली गर्न आवश्यक प्रक्रिया अगाडि बढेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार विद्यालयको जग्गामा संरचना नै बनाएर व्यापार व्यवसाय तथा बसोबास गर्नेका कारण विद्यालय प्रयोजनका लागि संरचना निर्माणमा कठिनाइ भएको छ । 

सुदूरपश्चिम प्रदेशकै नमुना विशेष विद्यालय सञ्चालनका लागि सो विद्यालय छनोटमा परेको छ तर विद्यालयको जग्गा खाली नहुँदा हालसम्म संरचना निर्माण कार्य अगाडि बढ्न सकेको छैन । अध्यक्ष हमालले विशेष विद्यालय निर्माणका लागि दुई करोड ५३ लाख रुपियाँ बजेट आएको बताउनुभयो । विसं २०८० फागुन १४ गते सात दिनभित्र जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरिएको छ । सो समयभित्र जग्गा खाली नगरे बल प्रयोग गरिने विद्यालयका प्रधानाध्यापक रामप्रसाद गौतमले बताउनुभयो ।