• १३ साउन २०८१, आइतबार

बेहडाबाबा मन्दिरमा आकाशबाट पुष्प वर्षा

blog

बेहडाबाबा मन्दिरमा पुष्प वर्षा गर्दै हेलिकोप्टर ।

अविनाश चौधरी

धनगढी, फागुन २५ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रिको अवसरमा हेलिकोप्टर प्रयोग गरेर आकाशबाट पुष्प वर्षा गरिएको हो । 

बहेडाबाबाप्रति श्रद्धालुहरूको आकर्षण अझ बढाउन एवम् प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरको प्रयोग गरेर आकाशबाट फूल वर्षा गरेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

लाखौँ श्रद्धालुहरूको उपस्थितिको क्रममा बेहडाबाबामा पहिलो पटक हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । उहाँका अनुसार बिहान ११ देखि चार पटक हेलिकोप्टरबाट पुष्प वर्षा गराइएको छ । 


११ लाख रुपियाँ भाडामा हेलिकोप्टर लिएर दुई लाख रुपियाँको फूल आकाशबाट वर्षा गरिएको उहाँले बताउनुभयो । दिउँसोसम्म करिब सात लाख श्रद्धालुहरूले बेहडाबाबा मन्दिरमा पूजाआजा गरेको समितिको दाबी छ । श्रद्धालुहरूको भीड व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, धनगढी उपमहानगरपालिकाका नगर प्रहरी र दुईसय जना स्वयंसेवक खटाइएका छन् । 


धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशस्थित विभिन्न ठाउँबाट पनि हजारौँ दर्शनार्थी आउनेगरेका छन् । बेहडाबाबा मन्दिरमा आज अपराह्न साढे दुई करोड दीप प्रज्ज्वलन गरिने अध्यक्ष जोशीले बताउनुभयो । शिव भगवानको प्रख्यात मन्दिरको रूपमा बेहडाबाबालाई लिने गरिन्छ । यहाँ दर्शन गर्ने भक्तजनको मनोकामना पूरा हुने विश्वास छ ।