• १६ भदौ २०८१, आइतबार

एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माण अन्तिम चरणमा

blog

नेपालगञ्जमा निर्माण भईरहेको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, फागुन २५ गते । नेपालगञ्ज रङ्गशालामा गत वर्ष वैशाखमा सुरु भएको अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माणको काम अन्ति मचरणमा पुगेको छ । गत वर्ष वैशाख १० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले शिलान्यास गर्नुभएको थियो । 

साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले यहीँ वैशाखभित्र निर्माण कम्पनीले हस्तान्तरण गर्ने गरी अन्तिम चरणको कार्य अघि बढाएको जानकारी दिनुभयो । चन्दले भन्नुभयो, "सेन्थेटिक रबर बिच्छाउने लगायतका अन्तिम चरणको फिनिसिङ्गको काम मात्रै बाँकी छ । सेन्थेटिक रबर चीनबाट ल्याईदैछ ।"

नौ करोड ८६ लाख ४० हजार ८३२ रुपियाँ २० पैसामा  पञ्चकन्या-सिन्कट्स जेभी ललितपुरले पुस २० गते सम्पन्न गर्ने गरी निर्माण थालेकोमा समयभित्र निर्माण कार्य पुरा नभएपछि म्याद थप भएको हो। एथलेटिक्स ट्रयाक निर्माण भएपछि खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको ट्रयाकमा तयारी गर्न पाउने भएकाले उत्कृष्ट प्रदर्शनका लागि सहज हुने चन्दले बताउनुभयो । 

राजधानी बाहिर पोखरा र दाङको बेलझुण्डीपछि नेपालगञ्जमा अन्तर्राष्ट्रिय स्तरको सेन्थेटिक ट्रयाकको निर्माण सुरु भएको हो । सेन्थेटिक ट्रयाक निर्माण सम्पन्न भएपछि नेपालगञ्ज रङ्गशालाले पनि पूर्णता पाउने भएको छ । तर यहाँ भित्र  खेल गतिविधि नहुँदा संरचना जीर्ण हुँदै जान थालेका छन् । रङ्गशालामा शुल्क महँगो भएकाले खेल गतिविधि हुन नसकेको खेलकर्मीको भनाइ छ ।