• १६ भदौ २०८१, आइतबार

सिन्धुलीमा खानेपानीको समस्या

blog

गहुँखोला मुहान अन्तर्गत कमलामाई नगरपालिका–४ कात्तिकेमा निर्माण गरिएको एक लाख लिटर क्षेमताको पानी सङ्कलन गर्ने ट्याङ्की ।

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, फागुन २५ गते । सुख्खा मौसम सुरु भएसँगै सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा खानेपानीको समस्या भएको छ । सुख्खा मौसमका कारण मुहानमा नै खानेपानीको स्रोत घट्दै गएपछि समस्या भएको उपभोक्ता बताउँछन् । 

आफूले पैसा तिरेर राखेको धारामा खानेपानी नआएपछि छिमेकको घरमा जानु परेको कमलामाई नगरपालिका–४ का उपभोक्ता लोकराज देवकोटाको गुनासो छ । उहाँले भन्नुभयो, "दिन बिराएर तुरुन्त आउँछ, त्यो पनि गाग्री भर्न नपाउँदै कहिले त सुक्छ ।"

मुहान सुकेर गाउँमा ल्याएको सार्वजनिक काँसिराम छाँगा खानेपानी योजनाको पानी आउन छाडेको डेढ महिना भई सकेको र पैसा तिरेर घर–घरमा जोडेको सिद्धेश्वर खानेपानी उपभोक्ताको धारामा पनि पर्याप्त पानी नआएको उहाँले सुनाउनुभयो । हरेक दिन बिहान खानेपानीकै चटारो हुने उपभोक्ता बताउँछन् ।

कमलामाई नगरपालिका–६ रातमाटाका उपभोक्ता रिता कार्की पनि कहिले त धाराबाट पानी आउनुको सट्टा हावा आउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, "खानेपानीको समस्या धेरै छ । गर्मी मौसम सुरु भएसँगै खानेपानीको समस्या झेल्नु परेको छ ।" धारामा खानेपानी नआएपनि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्ने शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थालाई भने नियमित शुल्क भने तिर्दै आएको उहाँको भनाइ छ ।

"कहिले कहीँ तारकतुरक आउँछ, त्यही पानी भरेर राख्यो । नत्र छिमेककोमा जानुको विकल्प छैन," उपभोक्ता कार्कीले थप्नुभयो, "छिमेकीको पनि समस्या मेरो जस्तै छ । जसको घरमा आउँछ, उतै गाग्री बोकेर कुद्यो ।"

यता सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्दै आएको शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले भने गर्मी मौसम सुरु भएसँगै खानेपानीको मुहानमा स्रोत सुक्दै गएपछि उक्त समस्या आएको जनाएको छ । उक्त संस्थाका प्राविधिक जगन्नाथ घिमिरे भन्नुहुन्छ, "गर्मीले मुहानमा नै खानेपानी सुक्दै आएको छ । आएको खानेपानीलाई दिन बिराएर टोल–टोलमा डेढ दुई घण्टाका दरले वितरण गर्दै आएका छौँ ।"

पहिले दैनिक उपभोक्ताको घरमा बिहानभरि जसो खानेपानी वितरण गर्दै आएकोमा अहिले सुख्खा मौसम सुरु भएपछि समय घटाई दिन बिराएर वितरण गर्दै आएको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढी बढ्दो सहरीकरणसँगै खानेपानी समस्या समाधान गर्न दैनिक १० लाख लिटर खानेपानी थपिने गरी योजनाको निर्माण भई रहेको उक्त संस्थाले जनाएको छ । हाल कमलामाई नगरपालिका-४ स्थित ग्वाङखोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोला दुई वटा मुहानबाट दैनिक २५ लाख लिटरको हाराहारीमा खानेपानी आपूर्ति गरी सदरमुकामका ३० हजार उपभोक्तालाई वितरण गरिँदै आएको छ । नयाँ योजना सम्पन्न भएपछि अहिले भई रहेको तीन हजार पाँचसय धारामा थप तीन हजार धारा थपिने अनुमान गरिएको प्राविधिक घिमिरेको भनाइ छ ।

संस्थाका अनुसार शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा थप दुई वटा नयाँ मुहानमा योजना सञ्चालन गरी उक्त खानेपानी थप्न लागिएको छ । संस्थाको १५ प्रतिशत लगानी सहित बागमती प्रदेश सरकारको २१ करोड रुपियाँ लगानीमा बहुवर्षे योजना अन्तर्गत तीन वर्षअघि ती योजना निर्माण सुरु गरिएको हो । कमलामाई नगरपालिका ४ र ५ को बिचमा लब्दाह खोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोलामा नयाँ मुहान बनाई निर्माण गरिएको ती नयाँ योजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ । 

अहिले सदरमुकाममा नेपाली सेना, प्रहरी, अन्य सरकारी कार्यालय र उपभोक्ता गरी दैनिक तीन हजार पाँचसय भन्दा बढी घर परिवारले खोनेपानी उपभोग गरिरहेका छन् । पानी सङ्कलनका लागि छ वटा रिजर्भ ट्याङ्की र दुई वटा लिफ्ट खानेपानी योजना निर्माण गरी सदरमुकामको खानेपानीलाई व्यवस्थित गरिँदै छ ।