• १६ भदौ २०८१, आइतबार

सरकारमा सहभागी हुन अन्य राजनीतिक दललाई एमालेको आग्रह

blog

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेल

काठमाडौं, फागुन २५ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।

शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुक विद्यमान सङ्कटलाई समाधान गर्न अनुकूलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टीका महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको पाँच राजनीतिक दलहरू सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरूलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरूलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ ।

नयाँ सत्ता समीकरण मुलुकको स्वाधीनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ । महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पुर्‍याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।

त्यसैगरी एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रूपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो । एमालेको वार्षिक क्यालेण्डरमा नेकपा स्थापना दिवस विशेष समारोहकारबिच मनाउने तय गरिएको थियो । त्यसलाई सम्पन्न गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पार्टी स्थापनाको ७५ औँ स्थापनाको वर्षगाँठको अवसरमा विशेष कार्यक्रमहरू गर्दै जाने योजना बनाएका थियौँ । र वैशाख १० गते पार्टी स्थापना दिवसको दिन एउटा विशेष समारोह आयोजना गर्ने निर्णय थियो । त्यो निर्णयको बेला हामीले देशभरका अगुवा कार्यकर्ताहरू सहभागी बनाउने निर्णय गरेका थियौँ । र त्यसैको सेरोफेरोमा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने, वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते पार्टी स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छौँ । त्यसैको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्‍यौँ ।’’

एमालेले अन्तर्राष्ट्रिय महिला दिवस, महा शिवरात्रि पर्व र सेना दिवस अवसरमा पनि शुभकामना दिएको छ ।