• १६ भदौ २०८१, आइतबार

बर्दिबासमा महिला दिवस मनाइयो

blog

विश्व नारी दिवसको अवसरमा प्रभातफेरी गर्दै बर्दीबासका महिला । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २५ गते । बर्दिबासमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । बर्दिबास नगरपालिकाको आयोजनामा शुक्रबार यहाँ एक सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवस दिवस मनाइएको हो । 

सन् १९१० मार्च ८ मा विश्वका केही प्रबुद्ध महिलाले आफ्नो हक अधिकारका लागि सङ्गठित भएर आन्दोलन सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष मार्च ८ लाई विश्वभर नारी दिवसकारुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’, ‘नारी समस्या समाधानमा ऐक्यबद्ध होऔँ जस्ता प्लेकार्डसहित शुक्रवार बिहान बर्दिबास नगर कार्यालय परिसरबाट निस्किएको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो । प्रभातफेरिमा महिला जनप्रतिनिधिहरू, नगर कर्मचारी, महिला प्रहरी सेल लगायत महिलासम्वद्ध सङ्घ संस्थाको सहभागिता थियो ।

नगर परिक्रमापछि बर्दिबास १ सिन्धुली चोकमा पुगेर परिणत भएको कोणसभालाई सम्बोधन गर्दै नारीका हक अधिकार तथा सुरक्षा प्रत्याभूतिका लागि आवाज उठाएको थियो । 

कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुख तारादेवी महतोले सामाजिक कलङ्क बनेको बढ्दो महिला हिंसाले सुरक्षा चुनौती थपिएको बताउनुभयो । गर्भमै छोरीको हत्या, अशिक्षा, बालविवाह, दाइजो, बलात्कार, घरेलु हिंसा जस्ता महिला विरुद्ध हुने त्रासदी नियन्त्रण नभएसम्म समाजले अग्रगति लिन नसकने धारणा राख्नुभयो । 

"महिलामाथि हुने हिंसा समुन्नत समाजका लागि वाधकसमेत भएकोले यसलाई अन्त्य नगरे महिलाले समान अवसर र अधिकार पाउन सक्दैनन्," उहाँले भन्नुभयो । बर्दिबास वडा नं ६ की महिला सदस्य युवत कुमारीले विकाशको सहयात्रिकोरुपमा रहेका महिलाको प्रत्येक क्षेत्रमा समान सहभागिता आवश्यक रहेको जिकिर गर्नुभयो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औल्याउँदै महिलाहरूले आपःना हक अधिकारका लागि आवाज उठाउनुका साथै कर्तव्य पालनामा पनि चुक्न नहुने धारणा राख्नुभयो ।  

नगरपालिकाकी महिला विकाश निरीक्षक सीता अधिकारीका अनुसार सबै उमेर समूहका गरी बर्दिबासमा ४० हजार महिला रहेकोमा स्थानीय तहमा करिब ३९ प्रतिशत महिलाको सहभागिता रहेको जनाउनुभयो ।