• १६ भदौ २०८१, आइतबार

विभेद हटाउन तीनै तहका सरकार क्रियाशील हुन आवश्यक

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्बि : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, फागुन २५ गते । 
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महिला र पुरुषका बिचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ तीनै तहका सरकार क्रियाशील हुन आवश्यक रहेकोमा जोडदिनुभएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुर्दै राष्ट्रिय सङ्कल्पलाई साकार पार्न हरेक नागरिक, परिवार, सामाजिक सङ्घसंस्था पनि क्रियाशील हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । 

दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिधित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

“लैङ्गिक समानताको उद्देश्य पूरा गर्न स्रोत माथिको निर्णायक अधिकार, अवसरमा महिलाहरूको समान पहुँच सुनिश्चित हुनुपर्दछ, यसका लागि तीनै तहका सरकारले प्राथमिकताका साथ महिला लगायत उपेक्षित एवम् सीमान्तकृत समुदायहरूका लागि क्षमता अभिवृद्धिको कार्यक्रममार्फत प्रतिस्पर्धात्मक ढङ्गबाट सहभागी हुने वातावरणको सृजना गर्नु आजको प्रमुख आवश्यकता हो,” मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।

गृहिणी महिलाहरूको सशक्तीकरणमा जोड दिँदै राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरण आवश्यक रहेको जिकिर गर्दै सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानको रूपमा अघि बढाउन बागमती प्रदेश सरकार दृढ रहेको उहाँले विश्वास दिलाउनुभयो । विश्व समुदायले सङ्कल्पको रूपमा अघि बढाइएको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि समाजमा विद्यमान कायम रहेका लैङ्गिक असमानताहरूलाई हरेक क्षेत्रबाट हटाउनुपर्ने उहाँको धारणा छ ।

नेपालको संविधानले लिएको समाजवाद उन्मुख नेपाली समाजको निर्माण गर्ने लक्ष्य हासिल गर्नका लागि हरेक नागरिकले सामाजिक न्याय प्रत्याभूत भएको महसुस गर्न सक्ने वातावरण गर्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

विश्वभरका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले अघि बढाइएको समाज रूपान्तरणको आन्दोलनले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिहरूलाई स्मरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्ति गर्नका लागि प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउँदै आइरहेको स्मरण गर्नुभयो ।