• १६ भदौ २०८१, आइतबार

हुसेन र हसनद्वारा पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग

blog

इस्लामावाद (पाकिस्तान), फागुन २४ गते । तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज सरिफका दुवै छोराले पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग गर्दै आफ्ना वकिलमार्फत जबाफदेही अदालतमा पुनरावेदन गरेका छन् ।

हुसेन नवाज र हसन नवाजले आफ्ना वकिल काजी मिस्बाहुल हसनमार्फत इस्लामाबादको जबाफदेही अदालतमा एभेनफिल्ड अपार्टमेन्ट, अल अजिजिया र फ्ल्यागसिप इन्भेस्टमेन्ट रेफरेन्समा जारी गरिएको गिरफ्तारी वारेन्ट निलम्बन गर्न माग गर्दै निवेदन दिनुभएको हो ।

न्यायाधीश नासिर जावेद राणाले नवाजद्वयको निवेदनमाथि सुनुवाइ गर्नुभएको छ । अधिवक्ता काजी मिस्बाहले न्यायाधीशलाई नवाजद्वयको तर्फबाट गराएको जानकारीमा उनीहरू क्रमशः साउदी अरब र बेलायतका बासिन्दा रहेका र उनीहरूलाई पीएमएल–एन प्रमुख नवाज शरीफ, छोरी मरियम नवाज र सेवानिवृत्त क्याप्टेन सफदरको साथ पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा आरोपित गरिएको उल्लेख छ ।

उनीहरू दुवै पाकिस्तानमा नरहेका समय उनीहरूविरूद्धको सुनुवाइ सुरु भएको, उनीहरू औपचारिक कानुनी प्रक्रियाको बारेमा अनभिज्ञ रहेका र राज्यले गिरफ्तारी सूचना र अन्य घोषणाहरू जारी गर्नेजस्ता कानुनी प्रक्रियाको सेवा गर्न उचित बाटोसमेत नअपनाएको अधिवक्ता मिस्बाहले दाबी गर्नुभएको छ ।

अदालतसमक्ष आत्मसमर्पण गर्ने तयारी

अभियुक्त द्वयले अब अदालतमा आत्मसमर्पण गर्ने निर्णय गरेका छन् । वकिलका अनुसार पूर्वप्रधानमन्त्रीका दुवै छोरा मार्च १२ मा इस्लामाबाद पुग्नेछन् । उनीहरू आत्मसमर्पण गर्न अदालत पुग्न सकुन् भनी दुवैले अदालतलाई आफ्नो पक्राउ पुर्जी निलम्बन गर्न वकिलमार्फत अनुरोध गरेका छन् ।

विशेष गरी नवाज सरिफ र उहाँकी छोरी मरियम नवाज दुवैलाई अघिल्लो आम निर्वाचनको केही दिन अघि एभेनफिल्ड रेफरेन्समा दोषी ठहर गरिएको थियो । पीएमएल–एन प्रमुखलाई डिसेम्बर २०१८ मा अल–अजिजिया सन्दर्भको मामलामा पनि दोषी ठहर गरिएको थियो तर फ्ल्यागशिप इन्भेस्टमेन्ट सन्दर्भमा निर्दोष ठहर गरिएको थियो ।

नवाज, मरियम र उहाँका पति अवकाशप्राप्त क्याप्टेन सफदरले एभेनफिल्डको मुद्दामा आफ्नो सजायलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै इस्लामाबाद उच्च अदालतमा पुनरावेदन गरेका थिए । तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाजले अल अजिजियाको सन्दर्भमा पनि दोषी ठहर गरिनु न्यायसङ्गत निर्णय नभएको दाबी गर्नुभएको थियो ।

त्यसपछि, पूर्वप्रधानमन्त्री सरिफ विदेश गएर नफर्केपछि इस्लामाबाद उच्च अदालतले उहाँलाई ‘भगोडा अपराधी’ घोषणा गरेको थियो । उहाँ बेलायतमा रहँदा मरियम र सफदरले यो मुद्दा अघि बढाइयो र इस्लामाबाद उच्च अदालतले अन्ततः उनीहरूको सजायँलाई खारेज गरिदिएको थियो ।

गत वर्षको अक्टोबरमा पूर्वप्रधानमन्त्री सरिफ पाकिस्तान फर्किनुभएको थियो । उहाँले आफूलाई दोषी ठहराइएका मुद्दामा पुनरावेदन गर्नुभएको थियो । आईएचसीले उहाँको निवेदनमाथि सुनुवाइ गर्दै दुवै मुद्दामा उहाँको सजायलाई खारेज गरिदिएको थियो । रासस/एएफपी