• १३ साउन २०८१, आइतबार

कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा

blog

त्रिवेणी नगरपालिकामा ७ मा सञ्चालन गरेको धना थापाको नेपाली हाते कागज उद्योग । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन २४ गते । बाजुरामा उत्पादन भएको नेपाली हाते कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा परेका छन् । जिल्लाको खप्तड छेडेदह, बडिमालिका र त्रिवेणी लगायतका विभिन्न स्थानीय तहमा अहिले नेपाली हाते कागज उत्पादन हुन्छ । 

सेतो बडुको बोटको लोक्ताबाट उत्पादन गरेको सो नेपाली कागजले पाउनु पर्ने मूल्य नपाउँदा यहाँका उद्यमी मर्कामा परेका हुन् । जिल्लाका विभिन्न ठाउँबाट सुद्ध बडुको लोक्ताबाट उत्पादन हुने नेपाली हाते कागजले भने जस्तो मूल्य नपाएको त्रिवेणी नगरपालिका-७ का धना थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो यताको कागज सेतो बडुबाट उत्पादन गर्ने भएकोले त्यो बलियो टिकाउ हुन्छ । उता सहर बजारमा उत्पादन हुने नेपाली कागज प्राय बाबियो र केराबाट उत्पादन गर्छन् । त्यो कागज सस्तो मूल्यमा बिक्री हुने भएपछि यहाँको नेपाली हाते कागजले मूल्य नपाएको प्रतिभा नेपाली हाते कागज उद्योगका प्रोप्राइटर धना थापाले बताउनुभयो ।

"अहिले म सँग दुई सय फ्रेम छन् । एक पटक दुई सय पिस निकाल्छु । दिनमा तीन पटक गरी एक दिनमा झण्डै छ सय ताउ उत्पादन हुन्छ । हाम्रो कागजलाई बिस ग्रामको ३२ देखि ३३ सय र ४० ग्रामको ६ हजार पाँच सय पर्छ भने उता सहरमा उत्पादन गरेको नेपाली हाते कागज ४० ग्रामको ४ हजार पाँच सयमा रुपियाँ बिक्री हुने गरेपछि यताको नेपाली हाते कागजले मूल्य नपाएको हो," थापाले भन्नुभयो । 

अहिले बाजुरामा झण्डै छ भन्दा बढी नेपाली हाते कागज उद्योग सञ्चालनमा आएका छन् । यी उद्योगले यहाँका हजाराैँ बेरोजगार युवालाई गाउँमै रोजगार दिने गरेपनि पछिल्लो समय भने ती उद्योग सञ्चालन गर्न उद्यमीलाई निकै सकस परेको छ ।

एक व्यक्तिको आय स्रोतबाट धान्न कठिन भएका यी उद्योग स्थानीय प्रदेश तथा सङ्घीय सरकार सँग आर्थिक सहयोगको अपेक्षामा छन् । उद्योग सञ्चालनका लागि आर्थिक सर्पोट मिल्ने हो भने यो उद्योगबाट नै गाउँका बेरोजगार युवालाई घरमै काम दिन सकिने उद्योग सञ्चालक बताउँछन् ।

२०६१ असोज ६ गते त्रिवेणी नगरपालिका-७ को खिरपाटामा सञ्चालन गरेको प्रतिभा नेपाली हाते कागज उद्योगबाट तोली, कैलाशमाडौं र छतारा लगायतका झण्डै पाँच सय जनाले रोजगारी पाएका छन् ।

नेपाली कागजले मूल्य नपाउँदा अहिले उद्यमीलाई उद्योग सञ्चालन गर्न निकै समस्या छ । यहाँका उत्पादन गरेको नेपाली कागजले राम्रो मूल्य पाउने हो थप बेरोजगार युवालाई गाउँमै रोजगारी दिन सकिने प्रतिभा नेपाली हाते कागज उद्योगका सञ्चालक धना थापाले बताउनुभयो ।

त्रिवेणी नगरपालिकामा अहिले तीन वटा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएका छन् । ती उद्योग व्यवस्थापनका लागि गत वर्ष पाँच लाख रुपियाँ छुट्याएको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडीले बताउनुभयो ।