• ८ मंसिर २०८१, शनिबार

मकैको खोस्टाबाट सजावटका सामान बनाउने तालिम

blog

तालिममा तयार पारिएका खोस्टाबाट निर्मित विभिन्न सजावटका सामग्री । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, फागुन २४ गते ।
 उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिको सहजीकरणमा चरिकोटमा आयोजना गरिएको १० दिने तालिम सम्पन्न भएको छ ।

सीप सिकौँ, उद्यमी बनौँ, आम्दानी बढाऔँ भन्ने नारालाई साकार पार्नका लागि संयुक्त रूपमा सुरु गरिएको तालिममा सहकारीका शेयर सदस्यलगायत यसअघि पनि तालिम लिएका २२ जना महिलाहरूको सहभागिता रहेको जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेश बस्नेतले जानकारी दिनुभयो ।

मकैको खोस्टाबाट फूल, फूलका गुच्छा, चकटी, टोकरी, साँचो झुन्डाउने (किरिङ) र चप्पललगायतका सामान बनाएका छन् । दोलखाको उत्पादन पाहुनालाई दिन मिल्ने खालको मायाको चिनो समेत तालिममा सहभागीहरूले तयार पारेका प्रशिक्षक सजना नगरकोटीले बताउनुभयो ।

यो तालिमलाई उपयोग गर्न सकेमा तालिम लिएका व्यक्तिहरू कसैको हात खाली नरहने तालिम प्रशिक्षक नगरकोटीले जानकारी दिनुभयो ।  तालिम लिएर सर्टिफिकेट बोकेर मात्र नबस्नका लागि भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले आग्रह गर्नुभयो ।

एउटै व्यक्तिले पटक पटक सबै खालका तालिम लिने तर व्यवहारमा कसैले नल्याउने भएकाले यो तालिम सिकेका सहभागी त्यस्ता खालका नहोउन् । उपप्रमुख बस्नेतले भन्नु भयो, भीमेश्वर नगरपालिकाले पनि महिलाहरूलाई लक्षित गरी धेरै खालका तालिमहरू दिएको तर थोरैले मात्र व्यवहारमा उतारेको हुनाले मकैको खोस्टाको तालिम फलदायी बनोस् । शुभकामना छ ।

तालिम समापन समारोहमा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । तालिममा भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नवीन लामा, जिल्ला सहकारी सङ्घका महासचिव दिलबहादुर केसी, जेसीजका उपाध्यक्ष ईश्वर दाहाल, प्रशिक्षक सजना नगरकोटी, प्रशिक्षार्थीहरू यशोदा कुँवर र रुकमाया ठकुरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबिच १० जनाको सहभागिता रहेको सात दिने त्रिस्टलको गहना बनाउने तालिमको समापन पनि गरिएको थियो । सो तालिम पनि उद्योग तथा वाणिज्य कार्यालय चरिकोटको आयोजना र जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को सहजीकरणमा गरिएको संस्थाका व्यवस्थापक रमेश बस्नेतले जानकारी दिनुभयो ।